किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल «

किरण पौडेल, राष्ट्रिय युवा संघ नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले वर्तमान सत्ता गठबन्धन दलहरूकै कारण मुलुक चाँडै निर्वाचनमा जाने बताए ।
बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनकै कारण मुलुक चाडैँ निर्वाचनमा जाने बताए । गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्नका निम्ति निर्वाचनको विकल्प नभएको प्रमाणित हुँदै गरेको भन्दै उहाँले अबको विकल्प ताजा जनादेश नै भएको बताए ।
उनले वर्तमान सत्तारुढ गठबन्धन अस्वभाविक र अप्राकृतिक भएकाले धेरै नटिक्ने पनि बताए । उनले भने, ‘अब फेरि अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समूहहरूले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरि एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरि संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिँदैन भन्नेकुरा फेरि प्रमाणित हुँदैछ । हिजो केपी शर्मा ओलीले त्यो कदम चलिरहँदा त्यसलाई गलत भनेर व्याख्या गर्नेहरू, अब ओलीले चालेका कदमहरू राष्ट्रिय आवश्यकता रहेछ भन्ने कुरा आम जनताले महशुस हुनेगरी मुलुकको राष्ट्रिय राजनीति अब त्यो तर्फ जाने हामीले अनुमान पनि गरिरहेका छौँ र जानुपर्छ ।
र त्यो ताजा जनादेश नै अबको एकमात्र विकल्प हो भन्ने हाम्रो संगठनको ठम्याई छ । अस्वभाविक र अप्राकृतिक जुन गठबन्धन थियो । यो गठबन्धन पनि धेरै टिक्नेवाला छैन । मुलुक पुनः निर्वाचनको बाटोतर्फ अघि बढ्नेछ ।’
अध्यक्ष पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्बभन्दा बढी रकम युवाहरूको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भए पनि राज्यका निकायले पारदर्शी रूपमा युवाहरूमाझ वितरण नगरेको बताए । ओली नेतृत्वको सरकारले दिलाएको युवामैत्री कार्यक्रमको सबैले लाभ लिनु पाउनुपर्ने उनले माग गरे । उनले रकमको पारदर्शिता हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्