‘चिकित्सा शिक्षामा अब तात्विक परिवर्तन आउँछ’ «

‘चिकित्सा शिक्षामा अब तात्विक परिवर्तन आउँछ’

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा मन्त्री पोखरेलले विधेयकले सबै विषयलाई समेटेको दाबी गरे । उनले भने, “संसद्को एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनसनको बाटो किन पक्रिनुभयो ? म अनुरोध गर्न चाहन्छु, जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनसन फिर्ता लिईदिनुपर्छ ।”
उनले केसीले अनसन फिर्ता लिएपछि नै उनको गरिमा बढ्ने दाबी गरे । मन्त्री पोखरेलले भने, “यो विधेयक उहाँको पनि योगदानको कारणले पास भएको छ र अब अर्को शैक्षिक सत्रलाई हेर्दा विधेयक पास गर्न ढिला भएको छ ।”
त्यतिबेला पर्याप्त सम्वाद हुन नसक्दा अविश्वासजस्तो सिर्जना भएपनि अन्ततः सरकारले सहमति गरेको मन्त्री पोखरेलले सुनाए । उनले भने, “त्यो सहमतिलाई टेकेर यो विधेयक बनेको छ । यसपटक संसद्मा पनि केही नयाँ विशेषता देखा परेको छ । माननीय सदस्यहरुले सरकारले गरेको सहमतिको मूल पक्षलाई ध्यान दिँदै आफ्नो अन्य नयाँ विषयहरु पनि संसद्मा राख्नुभयो र समितिले अंगिकार ग¥यो ।”
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको रुपमा चित्रण गरे । उनले थपे, “यो सर्वाधिक ठूलो उपलब्धिलाई अब राष्ट्रिय सभाबाट पारित गरेर चाँडो ऐन बनाएर चाँडो कार्यान्वयन गर्नुपर्छ ।” मन्त्री पोखरेलले विधेयक संसद्बाट विधि र प्रक्रियाको आधारमा पारित भैसकेकोले यसबारेमा अन्य ढंगले यसको विरोध गर्न नहुने धारणा राखे । उनले थपे, “यसलाई अब अन्य ढंगले विरोध गर्नुभन्दा स्वीकार गर्दै प्रयोगमा जाऔं । अभ्यासमा जाऔं । कमीकमजोरी भएछन् भने सच्याऊँ ।”
उनले आफूहरु निर्वाचित भएर आएको र यो प्रजातान्त्रिक सरकार भएको सुनाउँदै सबैले कानुनको शासनलाई मान्नुपर्ने बताए । उनले डा. केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सुवास नेम्वाङ र नेकपाका महासचिव विष्णु पौडेलहरु उपस्थित भएर सहमति गर्दा सम्झौतामा लेखिएका कुराहरु संसदको बाटो भएर टुंग्याइन्छ भनेर त्यतिखेरै कुरा भएको पनि सुनाए ।
आफूले सदनबाट बाहिर निस्किँदा पहिले पनि शिक्षासँग जोडिएका कुराको समस्या समाधानको लागि वार्ता तथा सम्वादको लागि अझै तयार रहेको भनेर बोलिसकेको पनि उनले बताए । यद्यपि डा. केसीले उठाएका अन्य मुद्दाहरु शिक्षासँग सम्बन्धित नभएको उनको जिकिर छ । उनले भने, “उहाँका अन्य मुद्दाहरु गृह–प्रशासनसँग सम्बन्धित छन् । यी कतिपय विषयहरु जसरी आएका छन् । हामीलाई पनि चिन्ता लागेको छ । वास्तवमा यस्ता खालका विषयहरु लिएर आएर उहाँले आफ्नो सम्मान घटाउने नै काम गर्नुभयो ।”
मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्यबारे सरकार चिन्तित रहेको उल्लेख गरे । ०६९ सालदेखि चिकित्सा शिक्षा क्षेत्रमा आवाजहरु उठ्दै आएकोमा संक्रमणकालमा विकृति–विसंगति पनि धेरै खालका आएको तर त्यसलाई अहिलेको विधेयकले समेट्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्