कोरोनाको संक्रमणदर घटेपछि शैक्षिक क्रियाकलाप सुरु «

कोरोनाको संक्रमणदर घटेपछि शैक्षिक क्रियाकलाप सुरु


केही दिनयता कोरोना संक्रमण सुस्त भएपछि सरकारले विद्यालय तथा उच्च तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न शर्तसहित अनुमति दिएको छ । सरकारी अनुमतिपछि विद्यालयले कक्षा सञ्चालन गर्ने तयारी गर्न थालेका छन् ।
सरकारले दिएको शर्त सहितको अनुमति अनुसार जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा स्थानीय तहले निर्णय गर्नु पर्ने छ । यो निर्णयपछि अधिकांश निजी विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय परीक्षा बोर्डबाट हुने परीक्षा र भर्ना कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको भए पनि कक्षा सञ्चालनमा भने शर्त राखिएका छन् । बोर्डले बुधबार बैठक बसी कक्षा १२ को एक महिनाअघि स्थगित भएको परीक्षा भदौ ३० बाट सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अनुसार संगीत, ललितकला र संस्कृत विषय समूह समेत तथा प्राविधिक विषय समूहतर्पm नियमित, ग्रेड वृद्धि एवं आंगिक परीक्षार्थीहरुको वार्षिक परीक्षा विद्यालयमा नै केन्द्र कायम गरी सञ्चालन गर्नु पर्नेछ । परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना गरी गराउन अनुरोध गरेको छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका भर्ना लगायत परीक्षाका कार्यक्रम समेत सञ्चालन हुन थालेका छन् । त्रिभुवन विश्वविद्यालयले हालै एलएलबीको भर्ना आवेदन माग गरेको छ । जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने तर गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समययता कोरोना संक्रमणदरमा केही कमी आएको देखिए पनि संक्रमणको जोखिम कायम नै रहेको जनाउँदै सचेत हुन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले नै विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे मन्त्रालयले छलफल गरेर कार्ययोजना बनाइरहेको बताए । मन्त्रालयले कार्ययोजना बनाएर रेड, एल्लो, र ग्रिन जोनका रुपमा वर्गिकरण गरिने जनाएको छ । रेड जोनमा रहेका स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने नियम लागू गर्ने तयारी गरेको छ । एल्लो जोनमा रहेका स्थानमा एक तिहाइ विद्यार्थीलाई पालोपालोमा बोलाएर विद्यालय खोल्न सकिने उल्लेख छ । मन्त्रालयले ग्रिन जोनमा रहेका स्थानमा विद्यालय पूर्णरुपमा भौतिकरुपमा खोल्न सकिने जनाउँदै ती सबै अवस्थामा मन्त्रालयको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पालना गर्नुपर्ने जनाएको छ । हाल अधिकांश विद्यालयले अनलाइनमार्पmत नियमित रुपमा कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्