छिमेकमा टेलिभिजन हेर्न गएकी रुपमती फर्किनन् «

छिमेकमा टेलिभिजन हेर्न गएकी रुपमती फर्किनन्

विराटनगर-टेलिभिजन हेर्न भनेपछि हुरुक्कै हुन्थिन् विराटनगर–८ बहुवाहीकी ११ वर्षीया बालिका रुपमती दास । गरिबीका कारण उनको घरमा टेभिजिन थिएन । सधैं साँझमा छिमेकीको घरमा टेलिभिजन हेर्न जान्थिन् उनी । तर, शनिबार राति टेलिभिजन हेर्न गएकी रुपमती फर्किनन् ।
मृतककी आमा मन्नी देवीले शनिबार साँझ ८ बजेपछि छोरीलाई २० रुपैयाँ दिएर नजिकैको पसलमा भुजा किन्न पठाएको तर भुजा नपाएपछि छोरी फर्किएर घर आएको जानकारी दिइन् । त्यसपछि भने छोरीले छिमेकको घरमा टिभी हेर्न जान्छु भनेर निस्किएको र त्यसपछि बेपत्ता भएको बताइन् । बेपत्ता बालिका दास आइतबार विराटनगरस्थित सिंघिया खोलामा मृत भेटिइन् । गुडिया नामले बोलाइने रुपमतिको शव नग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । घरभन्दा ५ सय मिटर दक्षिण–पूर्व सिंघिया खोलाको मुलधारमा मृतकको शव भेटिएको थियो । खोज्ने क्रममा आइतबार दिउँसो मृतककी हजुरआमा सीता दासले खोलामा बालिकको शव फेला पारेकी थिइन् । दासले शव पानीमा उँधो परेको र नाङ्गो अवस्थामा भेटिएकाले सुरुमा चिन्नै समस्या भएको थियो ।
मृतक बालिकाका पिता ठेला चलाएर परिवारको जीवनयापन गर्दै आएका छन् । दास परिवार खेला छेउकै ऐलानी जग्गामा झुपडी बनाएर बसोबास गर्दै आएको छ । सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने मोरङका प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले बताए । “घटनाको सूक्ष्म अनुसन्धान सुरु भएको छ,” उनले भने, “अपराधी चाँडै पक्राउ पर्नेछ ।” कञ्चनपुरकी निर्मला पन्तकै प्रकृतिको घटना भएको हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्