कोरोनाकालको सदुपयोग «

कोरोनाकालको सदुपयोग


२०७७ सालको सुरुवाती समय नै दर्दनाक बन्यो । २०७८ सालमा पनि वसन्तको ऋतुको सौम्यतालाई पछारेर दोस्रो लहर (युके भेरियन्ट) को कोरोना महामारीले उजाड शिशिरजस्तो बनेर छोपिदियो । यो महामारी प्राकृतिक समस्या हो, तर यसको फैलावटमा व्यक्तिगत तथा सामाजिक कारणले प्रभाव पार्यो । यो विषाणु आफैं फैलिएको नभएर नजान्दा–नजान्दै अनि जान्दाजान्दै पनि मानिसद्वारा नै पैmलियो । परिणामतः पृथ्वीरूपी घरमा एउटै आर्तनादले सताइरहेको छ । विज्ञानको विस्फोट, नवीन आविष्कार र उन्नतिदेखि मानिसले गर्ने गरेको दौलतको दम्भ, उसको विज्ञतालाई पनि यसले चुनौती दिइरहेको छ ।
बम र बारुदको गोला बर्साएर एकआपसमा ताण्डव मच्चाइरहेको अपराधी बुद्धिलाई एक अदृश्य विषाणुले चक्मा दिइरहेको छ । रातोदिन कर्मवादी बन्नेका लागिसमेत पूर्वसतर्कता र एकान्तवासको बाध्यता बढायो । एक विषाणुले सर्वश्रेष्ठ प्राणी मानिसलाई आफ्नो नियमभित्रको अनुशासनमा बाँधिदियो । हामी प्रकृतिलाई दुरुपयोग गरिरहेका थियौँ, प्रविधिलाई सर्वस्व ठानिरहेका थियौँ, आफ्नो श्रेष्ठतामा गर्व गरिरहेका थियौँ तर आज जाबो सूक्ष्म विषाणुको चक्रव्युहभित्र बन्धित छौँ । जीवनमरणको दोसाँधमा त्राहित्राहि छौँ । यसर्थ यो खेलाँचीको विषय नै होइन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको परिवर्तित तेस्रो लहर पैmलिएको भनी पुष्टि गरेको छ ।
यसलाई विज्ञहरूले झनै जटिल र घातक भनिरहेका छन् । यस प्रभावबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठनले ६० वर्षभन्दा माथिका नागरिकदेखि तीन–चार महिनाका शिशुहरूमा समेत प्रभाव पार्ने भनेको छ । खोक्दा, हाच्छ्युँ गर्दामा पनि सर्ने सम्भावना बोकेको यो विषाणु बन्द कोठामा समेत तीन घण्टासम्म रहन सक्ने दाबी छ । वास्तवमा सबैले जित्दा जित्ने र सबैले हार्दा हार्ने महामारीका बीचमा हामी छौँ । यसमा जोकोही हारे पनि सबै हार्नेछौँ । जब भयावह हुन्छ, तब सचेत हुने हाम्रो बानीलाई पनि सुधार्नु आवश्यक छ । यसर्थ यो वर्ग, जाति अनि स्वार्थका तहमा कोचिएको बाध्यता पटक्कै होइन ।
मूलतः विपन्न मुलुकमा दीनदुःखी वा मजदुरका वेदना जति धेरै हृदयविदारक हुन्छन् त्यति धेरै व्यवस्थापकीय कमजोरी हुने रहेछन् । त्यसो त धेरै सम्पन्न मुलुक पनि यस महामारीको फन्दामा कमजोर साबित भए । यसो भनिरहँदा महामारीका कारण अमेरिका, बेलायत र भारतलगायतका मुलुकका तुलनामा चीनमा निकै कम विपन्न वर्गको मृत्यु भएको तथ्य आइरहेको पनि छ ।
साउथ कोरियामा सार्वजनिक स्वास्थ्यको सुरक्षा, समाज र अर्थलाई सन्तुलित तुल्याउने तथा दैनिक जीवनको व्यवस्थापनको तीन लक्ष्यलाई अपनायो । हाम्रो देशमा अस्थिर सरकार र सरकारले काममा कटिबद्ध रहने अर्थात् कटिबद्ध हुन दिने दुवै सन्दर्भमा पार्टीका नेतृत्वहरूमा ऐक्यबद्धता रहेन ।
यो महामारीले सबैभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रको बजारमा प्रहार ग¥यो । आन्तरिक पर्यटन व्यवसाय तङ्ग्रिनै लाग्दा दोस्रो लहरले प्रहार ग¥यो । ‘काठमाडौँ लिभिङ ल्याब्स’ ले स्थलगत सर्वेक्षण गरी विज्ञहरूले गरेको समन्वयात्मक अध्ययनका अनुसार यस महामारीका कारण नेपालमा १७ प्रतिशत पर्यटन व्यवसाय सधैँका लागि बन्द भएका छन् । फलतः ६५ प्रतिशत मजदुरको रोजगार गुम्ने बाध्यतालाई स्वीकार गर्नुपर्ने तथ्य छ । तेस्रो लहर खप्टिएर आएको तथा विश्व स्वास्थ्य संगठनले अरू थप खतरालाई पनि प्रक्षेपण गरिरहेको छ । यद्यपि यो अवस्थामा मुलुकले विज्ञसँग आवश्यक छलफल गरी सहकार्यात्मक समाधान खोज्नु आवश्यक छ ।
विशेष गरेर ग्रामीण क्षेत्रका विपन्नहरूको तुलनामा सहरतिरै बढी मृत्यु भइरहेको देखिन्छ । हाल विपन्न वर्गमा अनिकालको पीडा छ । एक अध्ययनअनुसार चीनभन्दा भारतमा विशेषतः विपन्न वर्गले ज्यान गुमाउनुको मूल कारण स्थानीय निकायको नीतिगत प्रणाली फितलो रहेको छ । नेपालमा सत्तादौडको होडबाजी र अनेकन राजनीतिक जात्राले मृत्युउत्सव मच्चिरहेको देखिन्छ ।
मान्छेको चाप बढी भएका क्षेत्रमा गरिबी, स्वास्थ्य हेरचाह तथा पूर्वाधार विकासको अभाव भएका तथा मूलतः दीर्घरोगीलाई समस्या देखिइरहेको स्वास्थ्यविद्को मत छ । सबैभन्दा दुःखको कुरा त सत्ताधारी र सत्ताबाहिरका सबै नेतृत्वले यस महामारीमा बाँच र बचाउको मानवतावादी बिगुल घन्काउनुपथ्र्यो । आखिर यो सार न ऊ सार मर्ने बेला लम्पसार भने जस्तो मात्रै भयो । ढिलै भए पनि अहिलेचाहिँ सरकारले घरघरमा गएर स्वाब लिने तथा निःशुल्क सेवा दिने, विदेशी मुलुकसँग महामारी अन्त्यका लागि हातेमालो गरिरहेको कुरा सराहनीय छ ।
महामारीले थिल्थिलो पारिरहँदा हजारौँ उनिउँको रोदनका बीचमा एउटा सानो गुलाफको हाँसोलाई खोज्नुपर्ने बाध्यता हामीमाझ छ । मानिसले चाहँदा, कोसिस गर्दा वा सचेत रहँदा उसले आपूmलाई यो बिनाहतियारको युद्धमा विजयी बनाउन सक्ने सम्भाव्यता छ । यसमा मानिस स्वयम् जिम्मेवार छ । उसको सामाजिक सजगता नै ऊ स्वयम्लाई बचाउने आधार हो ।
बन्दाबन्दी सरकारको रहर होइन बाध्यता हो । हाल मुलुकका धेरै जिल्लामा निषेधाज्ञा जारी छ । मुख्यतः विपन्नका लागि दिनानुदिन समस्याको पहाड चुलिँदो छ । सिङ्गो मुलुकमा आर्थिक अवस्था दयनीय बनिरहेको छ । २०७६/०७७ को तुलनामा २०७७/०७८ मा राजस्व सङ्कलन खुम्चिनु स्वाभाविक हो । कोरोना महामारी अन्त्यका लागि जनताको जीवन रक्षा, आर्थिक–सामाजिक पुनरुत्थानका लागि पहिलो वर्षमा १ खर्ब १० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने कुरालाई दर्साइएको पनि छ ।
हरेक साल श्रम गर्ने उमेर समूहका करिब ५ लाख जनसङ्ख्या कामको खोजीमा भौँतारिएको तथ्य तथा महामारीले रोजगारी गुमाइरहनुपर्ने बाध्यताले रोजगारको सङ्कटलाई झनै बढाएको देखिन्छ । आर्थिक नीतिको प्रभावकारी व्यवस्थापन नहुँदा मुलुक बेरोजगारीको जत्था नै बोकेर पिरिएको छ । यहाँको प्राकृतिक स्रोत र साधन, भौगोलिक परिवेश, खनिज, जनशक्ति, जमिन, जलस्रोतादिको उपलब्धतालाई हेर्दा हाम्रो मुलुक त सुनको कचौरा स्वयम्ले बोकेर बजारमा भीख मागिरहेको छ ।
तथापि, हालको यस महामारीको अवस्थामा व्यवस्थित तरिकाबाट ‘हुनेले मन फुकाएर नहुनेलाई सहयोग गर्ने पद्धति’ को विकास गर्न सकिन्छ । भिखारी जसरी होइन तर यो महामारीमा मानवताको बिगुल फुकेर समस्या समाधानार्थ एकताको मधुर धुन बजाउन सकिन्छ । विशेष गरेर सहरी क्षेत्रमा सामान्य वर्गका मानिसको जीवन धान्नैपर्ने बाध्यात्मक समस्याले समाज आक्रान्त छ । समाज चलायमान नहुँदा हामी सामाजिक असन्तुष्टिको सिकार भएर बाँचिरहेका छौं । विपन्नलाई अहिले त रोग, भोक र शोकले एकसाथ सताइरहेको छ ।
यसको समाधानार्थ मानिसको चाहना, उसको योजना र प्रभावकारी व्यवस्थापनमा आधारित विषय हो, जुन कुरालाई पहिलो लहरका केही उदाहरणले नै पुष्टि गरिसकेको छ ।
भोको पेटमा मानिसले आफ्नो व्यक्तित्व विकासलाई होइन, अनिवार्य आवश्यकतालाई ध्यान दिनुपर्ने बाध्यता हुन्छ । अनिवार्य आवश्यकता पूरा भएर फुर्सदिलो भएपछि बल्ल मानिसले त्यसको उपादेयताबारे सोच्न पाउने रहेछ । महामारीका कारण सवारी चापको कमी हुँदा व्यस्त रहने राजमार्गमा स्वास्थ्य मापदण्ड अपनाई मर्मत, सम्भार र थप विस्तार गर्ने कार्यमा सरकार अघि बढ्नु सकारात्मक र उचित निर्णय हो । समायोचित सदुपयोग र युगानुकूल परिवर्तनलाई शिरोधार्य गर्नु निकै नै वाञ्छनीय छ ।
विज्ञान प्रविधिको सदुपयोग गरेर मानिसले घरमा बसेर विश्व बजारलाई सकारात्मक रूपमा उपयोग गर्न थालेको छ । सेयर बजारको ज्ञानमा वृद्धि, शिक्षा–व्यापारलगायतका क्षेत्रमा अनलाइनको भरपुर उपयोग, पारिवारिक सद्भावको विकास, साहित्यिक तथा रचनात्मक कार्यको विस्तार हुनु, प्राज्ञिक वर्गमा विभिन्न सान्दर्भिक सन्दर्भमा उपलब्धिमूलक वेविनार सञ्चालन हुनु, चित्रकार, गीतकार आदि व्यक्तित्व विकासमा तल्लीन हुनुजस्ता सन्दर्भलाई कोरोनाका कारण विकास भएका सकारात्मक प्रभावका रूपमा लिनुपर्ने हुन्छ । सायद माग घट्दा मूल्य घट्ने अर्थशास्त्रीय मान्यताका कारण पनि अत्यावश्यकीय सामग्रीबाहेकको आयातमा कमी हुने रहेछ ।
यस अवस्थामा गाउँमा पुगेकाहरूले बाँझो जग्गाको उपयोग गर्दै करेसाबारीमा गोडमेल गर्ने, तरकारी फलाउने, फलपूmल लगाउने कार्यमा जुटेको देखिन्छ ।महाभारत–रामायणादि ग्रन्थहरू अध्ययन गर्ने, योगा गर्ने, सहरतिर भित्री खेलहरू खेल्ने, ज्ञानवद्र्धक सन्देशहरू युट्युबबाट सिक्ने, पाक्कलाको ज्ञान अभिवृद्धि गर्नेलगायतका कामले मानिसमा चिन्ताभन्दा बढी सन्तुष्टि नै प्रदान गरिरहेको हुन्छ । अन्य प्राज्ञिक बौद्धिक कार्यको विकास गर्ने, सिर्जनात्मक तथा अनुसन्धानपरक अध्ययन गर्ने, व्यक्तित्व विकास गर्न विभिन्न जुम, टिम्स, गुगल मिट आदिमा सामेल भएर सिक्ने सिकाउने परिवेशले कोरोना महामारीका बिचमा नै प्रश्रय पायो ।
फलतः प्रतिभा प्रस्फुटन गर्ने, आफ्नो रोजगारीको आफैं विकास गर्ने, शिल्पकला, हस्तकला, चित्रकलादिको सिप विकास हुन्छ । यसबाट जीवनोपयोगी सीप र कलाको ज्ञान अभिवृद्धि हुन्छ । बालबच्चा, अभिभावक तथा आफन्तसँगको सद्भाव विकास नभएको पनि देखिँदैन । घरमै बसिरहँदा पनि मानिसहरू यतिखेर विगतका कार्यहरूलाई पुनर्ताजगी गर्दै महामारीको आर्तनादका बिचमा अनलाइन पद्धतिको उपयोग, नवीन खोज, व्यक्तित्व विकास तथाअनुसन्धानतिर आकर्षित रहेका देखिन्छन् ।

यसअघिको भएको बन्दाबन्दीले विश्वभर कार्बनडाइअक्साइड उत्सर्जनमा १७ प्रतिशत कमी आएको थियो । फलतः पर्यावरणीय सौन्दर्यमा व्यापक परिवर्तन आयो । सहरमा वायु प्रदूषण, ध्वनि प्रदूषणको कमीले स्वच्छता, शान्ति र स्वस्थता प्राप्त हुन पुग्यो । भीडभाड र कोलाहलसँग माथापच्ची खेल्दैदैनिक रूपमा एकअर्काको खुट्टा तान्ने, चुक्ली खेल्ने, चाप्लुसी गर्ने, ठग्ने प्रवृत्ति कम हुँदा सायद मानिसमा केही शान्ति मिल्दो हो ! यस मानेमा मुलुकले हरित वातावरणको अवधारणा, शिक्षा र स्वास्थ्यको निःशुल्क सुविधा प्रदान गरी थप व्यवस्थित र सुलभ तुल्याउने अभियानलाई ग्राह्यता दिइनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्