ऋणको भरमा प्राविधिक शिक्षा «

ऋणको भरमा प्राविधिक शिक्षा

जुम्ला-जुम्लाका स्थानीय तहले सञ्चालन गरेको प्राविधिक शिक्षा बिना पूर्वाधार सञ्चालन भइरहेको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि आवश्यक, भवन, प्रयोगशाला, लाइबे्ररीलगायत अन्य पूर्वाधार बिना प्राविधिक शिक्षा सञ्चालन गर्दा विद्यालयलाई निकै समस्या भएको छ । पूर्वाधार बिनै प्राविधिक शिक्षाको पठनपाठन शुरु गरेपछि, विद्यालयमा अन्य विद्यार्थीलाई पनि समस्या भएको देखिन्छ ।
पूर्वाधार व्यवस्थापनका लागि स्थानीय तहले लगानी नगरेपछि स्वयं एक शिक्षकले व्यक्तिगत जोखिम मोल्दै ऋण मागेका छन् । जुम्ला तातोपानी गाउँपालिकास्थित हिमशिखर माविमा सञ्चालित डिप्लोमा इन सब इन्जिनियर पढाइका लागि पूर्वाधार व्यवस्थापन गर्न शिक्षक गणेश डाँगीले झण्डै २५ लाख रकम ऋण निकालेका छन् ।
“पूर्वाधार बिना प्राविधिक शिक्षा गुणस्तर नहुने गुनासो आयो । भर्ना भएका विद्यार्थीहरूमा पनि निराशा छाएको देखेपछि व्यक्तिगत ऋण माग्न बाध्य भएको हुँ । पर्याप्त लगानी गर्ने, गाउँमै प्राविधिक शिक्षा सञ्चालन गरी नागरिकलाई राहत महशुस गराउने आश्वासन दिएको स्थानीय सरकार अहिले बेखबर छ । ऋण मागेको रकमले पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ,” उनले भने ।
विद्यालयका निमित्त प्राधानाध्यापक राजु केसीले २५ लाख ऋण चुक्ताका लागि गाउँपालिकालाई पटकपटक माग गर्दा पनि कुनै स्रोत नभएको भन्दै ९ लाखमात्रै दिने कुरा भएको बताए । “तिर्नुपर्ने २५ लाख छ । तर गाउँपालिकाले ९ लाख दिने भनेको त्यो पनि निश्चित छैन । गाउँपालिकालको लगानी तथा पूर्वाधारबिना प्राविधिक शिक्षा सञ्चालन गर्नु फलामको चिउरा चपाउनु जस्तै हो,” उनले भने ।
प्राविधिक शिक्षा संयोजक गणेश डाँगीले २५ लाख कुनै व्यक्तिगत स्वार्थको लागि ऋण मागेजस्तो गाउँपालिकाले गरेको विद्यालयको गुनासो गरे । उनले भने, “तर गाउँपालिकाले वास्ता नगर्दा ३ वर्षे डिप्लोमा इन सब इन्जिनियरको पढाइ गर्न निकै समस्या हुने देखिएको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि जति पनि लगानी गर्ने आश्वासन दिएको तातोपानी गाउँपालिका पछि हटेको छ ।”
ऋणको भरमा प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिने निष्र्कषमा शिक्षकहरू पुगेका छन् । तत्काल २५ लाख ऋण चुक्ता गरिदिन पनि माग गरेका छन् । हिमशिखर माविको प्राविधिक शिक्षा सञ्चालनको समस्या प्रतिनिधि विषयमात्रै हो । जुम्लाका गुठिचौर, पातारासी र कनकासुन्दरीमा सञ्चालित प्राविधिक शिक्षाको अवस्था पनि यस्तै छ ।

चारै तहमा सकस
गाउँपालिकाले पर्याप्त लगानी नगर्दा प्राविधिक शिक्षा सञ्चालनका लागि विद्यालयलाई सकस भएको छ । जुम्लाका चार स्थानीय तहले यो वर्षबाट प्राविधिक शिक्षा सञ्चालन गरेका छन् । प्राविधिक शिक्षा सञ्चालन भएको दुई महिना बित्दा समेत स्थानीय तह बेखबर छ । गाउँमै प्राविधिक शिक्षा सञ्चालन गरेर राहत प्रदान गर्ने बाचा गरेका जनप्रतिनिधि अहिले यसको विकासमा ध्यानै नदिएको पाइएको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि स्थानीय तहले नीति तथा कार्यक्रममा प्रथामिकता दिए पनि प्रभावकारी कार्यान्वयन हुन प्राविधिक शिक्षा सञ्चालनमा निकै समस्या आएको छ ।
पातारासी, गुठीचौर, कनकासुन्दरी र तातोपानी गाउँपालिकाले बाली विज्ञान, पशु विज्ञान, डिप्लोमा इन सबइन्जिनियरका कक्षा सञ्चालन गरेका छन् । तर चारै स्थानीय तह अहिले लगानी गर्ने बेला पछि हटेपछि निकै सकस भएको छ । पूर्वाधार व्यवस्थापनका लागि कुनै स्थानीय तहले अहिले लगानी गर्न मानेका छैनन् । चारै स्थानीय तह गरी झण्डै १ सय २० जना विद्यार्थी अध्यनयरत छन् ।

लगानी बढाउँछौं : गाउँपालिका अध्यक्ष
प्राविधिक शिक्षा सञ्चालनका लागि शुरुमा झण्डै ४० लाख निकासा गरेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । सोहि रकमले प्राविधिक शिक्षा सञ्चालनका लागि भवन निर्माण भइरहेको तर क्रमागत आयोजना भएकोले निर्माण कार्य अधुरै रहेको उनले जानकारी दिए । पूर्वाधार व्यवस्थापनका लागि शिक्षक गणेश डाँगीले ल्याएको २५ लाख ऋण गाउँपालिकाबाटै चुक्ता हुने उनको भनाइ छ । “अहिले ९ लाख छुट्याएका छौं, विस्तारै बाँकी रकम पनि दिन्छौं । ऋणको भरमा प्राविधिक शिक्षा सञ्चालन हुँदैन । त्यसले गुणस्तर पनि ल्याउँदैन ।” यस विषयमा गाउँपालिका गम्भीर भएको अध्यक्ष न्यौपानेको भनाइ छ । नीति तथा कार्यक्रम अनुसार प्राविधिक शिक्षा लगानीका लागि कुनै कन्जुस्याइँ नहुने दाबी उनले गरे ।
पातारासी गाउँपालिका अध्यक्ष लक्षीमन बोहोराले पूर्वाधार व्यवस्थापनका लागि पर्याप्त बजेट छुट्याइएको बताए । “काम गर्दा चुनौती आउँछन् । तर सामना गर्दै जाने साहस गर्र्नुपर्छ ।” आवश्यकता अनुसार लगानी गर्न तयार रहेको स्थानीय तहका प्रमुखहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्