गौतम बुद्ध विमानस्थल सञ्चालनको जिम्मा विदेशीलाई «

गौतम बुद्ध विमानस्थल सञ्चालनको जिम्मा विदेशीलाई

काठमाडौं-भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिन सरकारले दूतावासमार्फत प्रस्ताव माग्ने भएको छ । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न लागेको उक्त विमानस्थलका लागि कम्पनी छनोट भने ‘जीटूजी’ मोडलमा गर्न लागिएको हो । मन्त्रालयले आधा दर्जन दूतावासमा पत्र पठाएर प्रस्ताव माग्ने तयारी गरेको छ ।
पीपीपी मोडलमा सञ्चालनको लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ । “विमानस्थल सञ्चालन पीपीपी मोडलमा हुने र छनोट जीटूजीबाट गर्न लागिएको हो,” सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने ।
विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्दासमेत कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषय नटुंगिएपछि नागरिक उड्डयन प्राधिकरणले आफैं सञ्चालनको तयारी सुरु गरेको थियो । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिनाअघि अर्थ मन्त्रालयमा भैरहवा विमानस्थल निर्माण पीपीपी मोडलमा सञ्चालनको प्रस्ताव पठाएको थियो । “अर्थ मन्त्रालयबाट विमानस्थल पीपीपी मोडलमा सञ्चालनको लागि सहमति आएको र सोहीअनुसार कम्पनी छनोट पनि अगाडि बढेको छ,” मन्त्री अधिकारीले कारोबारसँग भने ।
मन्त्री अधिकारीका अनुसार भैरहवा विमानस्थल सञ्चालनको लागि कतार, साउदी अरेबिया, म्युनिखलगायत एयरपोर्ट तथा विमानस्थलबाट चासो देखाइएको छ । पहिलो चरणमा जीटूजीअनुसार दूतावासमार्फत प्रस्ताव माग्ने मन्त्रालयले तयारी छ भने जीटूजीमा सम्भव नभएमा आशयपत्र (एलओआई) मागेर अगाडि बढ्ने समेत मन्त्री अधिकारीले जानकारी दिए ।
विमानस्थल आगामी जुनभित्रै सञ्चालन गर्नेगरी काममा तीब्रता दिइएको बताउँदै मन्त्री अधिकारीले पीपीपीको प्रक्रिया सम्पन्न नभएसम्म प्राधिकरणले आफँै केही समय विमानस्थल चलाउने समेत जानकारी दिए । मन्त्री अधिकारीले मन्त्री भएलगत्तै भैहरवा विमानस्थल सञ्चालन पीपीपी मोडलबाट गर्नेगरी प्रस्ताव तयार परेर स्वीकृतिका लागि अर्थमा पठाएका थिए ।
अहिलेको प्राधिकरणले विमानस्थल सञ्चालन गर्न नसक्ने भएकोले पीपीपी मोडलमा नयाँ विमानस्थल सञ्चालनमा जानुको विकल्प नभएको समेत मन्त्री अधिकारीको भनाइ छ । अब सञ्चालन पक्ष र नेपाल सरकारको कति प्रतिशत नाफा बाँड्नेलगायत विषय भने आशयपत्र मागेपछि छलफल हुने र सोहीअनुसार प्रस्ताव तयार पारिने समेत मन्त्री अधिकारीले जानकारी दिए ।
यसको लागि युरोप, अमेरिका, भारत लगायत देश तथा विभिन्न कम्पनीहरुबाट सञ्चालनको जिम्मेलिने गरी चासो आएकोले अब कसरी दिने भन्नेमा छलफल हुने मन्त्री अधिकारीले बताए । गौतमबुद्ध विमानस्थलमा चीन, थाइल्यान्ड, भारत, श्रीलंकाबाट, मलेसियालगायत देशबाट उडान गर्नेगरी चासो आएको समेत उनले जानकारी दिए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दी एक वर्ष धकेलिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदार सँगको झगडाका कारण ७ महिना निर्माण कार्य ठप्पसमेत भएको थियो ।
चिनियाँ ठेकेदारले काम सन्तोषजनक नगरेको भन्दै एडीबीले ठेकदार हटाउन सरकारलाई चेतावनी दिएको थियो । तर पछिल्लो समय मुलुकभरका अन्य राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा तीव्र गतिमा गौतम बुद्ध विमानस्थल रहेको मन्त्री अधिकारीले दावी गरेका छन् ।
आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ भने यता मुआब्जाको लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अव बाँकी निकासा गर्र्दै जाने तयारी समेत सरकारको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा हेरिएको छ । समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले सास्ती बेहोर्दै आएका छन् । विमानस्थलमा एयरबसको ए–३४० र बोइङ–७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ ।
विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न हुने चरणमा रहेको छ । भने टर्मिनल भवन समेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्युपमेन्ट राडार, वत्ती तथा प्राविधि जडानको लागि टेन्डर प्रक्रियाबाट कम्पनी छनोट हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्