रुपन्देही–परासीका उद्योगमा बाढीले अर्बौंको क्षति «

रुपन्देही–परासीका उद्योगमा बाढीले अर्बौंको क्षति


अविरल वर्षापछि रुपन्देही र परासीका खोलानालाको पानी सतहमाथि आएपछि गाउँसहर प्रवेश गर्दा उद्योग, बजार–व्यवसाय र सर्वसाधारणको अर्बौं रुपैयाँको नोक्सान भएको छ । विशेष गरी उद्योगका तयारी एवं कच्चा पदार्थ, विद्युतीय उपकरण, तयारी खाद्यवस्तु, खाद्यका कच्चा वस्तु, प्याकेजिङका सामान, कपडा लगायतमा क्षति पुगेको छ ।
बाढीले भैरहवा–बुटवल सडक खण्डका पूर्वतर्फका उद्योगहरु र भैरहवा–धकधई–परासी औद्योगिक करिडोरका उद्योगमा ठूलो क्षति पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ । बाढीले क्षति पुगेका उद्योगहरु अझै पनि सञ्चालनमा आउन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । “हामी निरीक्षणमा गयौं र नोक्सानीको विवरण संकलन गरेका थियौं । ठूलो क्षति पुगेको छ उद्योगहरुमा,” आचार्यले भने ।
नेपालकै पुरानो पञ्चकन्या इन्डस्ट्रिजमा कच्चा सामग्री, विद्युतीय उपकरणहरु गरी कम्तिमा पनि १२ करोड रुपैयाँको क्षति पुगेको उद्योगका नायब महाप्रबन्धक देवेन्द्र शाहुले बताए । “एक हप्तादेखि उद्योग बन्द छ । प्लास्टिक सेक्सनतर्फका कच्चा सामग्रीहरु धेरै बगाएको छ भने । भएका पनि काम नलाग्ने अवस्थामा छन्,” शाहुले भने । वर्षापछि उद्योग बन्द हुँदा उत्पादन तथा बिक्री ठप्पसहित अन्य सबै गर्दा २० करोडभन्दा बढीको नोक्सान भएको उन्ले दाबी गरे ।
रोहिणी गाउँपालिकाको सेमरहवामा रहेको नेपालकै ठूलोमध्येको श्री स्टिल उद्योगमा कच्चा सामान, तयारी वस्तु, विद्युतीय उपकरण लगायतका सामानमा गरी १० करोडभन्दा बढीको क्षति भएको बताइएको छ । ८ दिनदेखि उद्योग बन्द हुँदा उत्पादन र बिक्री ठप्प छ । मेसिनरी सामानमा क्षति पुग्दा धेरै गाह्रो परेको छ । उद्योग बन्द हुनेबित्तिकै उद्योगसँग जोडिएका अरु सर्कल पनि तोडिने हँुदा ठूलो नोक्सान व्यहोर्नुपरेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।
धकधईमै रहेको सिद्धिविनायक एग्रो इन्डस्ट्रिजमा पनि नोक्सानी भएको छ । धान र तयारी चामल पूरै भिजेको छ भने उद्योगको मेसिनरी सामान र विद्युतीय उपकरणहरु पानीले डुबाएर ठूलो नोक्सानी भएको उद्योगका प्रबन्ध निर्देशक राम थापाले बताए ।
त्यसैगरी एसआर गु्रप अन्तर्गतको तिलोत्तमा नगरको बिहुलीमा रहेको एसआर स्टिलमा १ करोडभन्दा बढी र ओमसतियाको कटैयामा रहेको लुम्बिनी पिएसी पाइप उद्योगमा १५ लाख बढीको नोक्सान भएको कम्पनिका लेखापाल कमल पराजुलीले बताए ।
रोहीणिको धकधई नजिकै रहेको वेस्टर्न एग्रो तथा प्रोसेसिङ इन्डस्ट्रिजमा ६० टन गहँु डुबेको र गहुँ चाल्ने मेसिन र अन्य भोल्ट मिटरलगायतका विद्युतीय उपकरणहरुमा नोक्सान भएको उद्योगका प्रबन्ध निर्देशक आनन्द ओझाले बताए । सो क्षेत्रमा रहेका अन्य उद्योगहरु शंकर ग्यास, जय माता दी पाइप उद्योग लगायतका अन्य धेरै उद्योगहरु र साना चामल मिलहरुमा नोक्सान भएको छ ।
भैरहवा बुटवल खण्डको एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्राली, कमला एग्रो श्याम मोडर्न दाल मिल, रत्न आइरन इण्डस्ट्रिज, दुर्गा मोडर्न तेल दाल मिललगायतका दर्जनांै उद्योगहरुमा नोक्सानी भएको छ ।
भैरहवा–बुटवल सडक खण्ड ६ लेनको बनाउँदा छेउको नाला सानो र कतिपय स्थानमा निकासै नभएको, ठूलो नाला नासेर सानो बनाइएको कारणले डुवानको समस्या हुने गरेको छ । एक्कासि आएको बाढीका कारण उद्योग तथा व्यावसायिक प्रतिष्ठानका तयारी सामान, कच्चा पदार्थ र उपकरणहरु जोगाउन नसक्दा नोक्सानी बढी भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले बताए । रुपन्देही जिल्लामा मात्रै ठूला, मझौला तथा साना गरी करिब १५० उद्योगहरुमा नोक्सान भएको छ । त्यसैगरी परासीखण्डमा रहेका दर्जनौं उद्योगहरुमा बाढीले ठूलो नोक्सानी गर्दा करोडांैको नोक्सानी भएको उद्योगी विरेन्द्र अग्रहरिले बताए ।

प्रतिक्रिया दिनुहोस्