चार दिनमा १६७ अंकले घट्यो नेप्से «

चार दिनमा १६७ अंकले घट्यो नेप्से

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा निर्धारण गरेसँगै ओरालो लाग्न थालेको सेयर बजारमा यो साता पनि उच्च गिरावट आएको छ ।

यो साता बजारमा चार दिनमात्र कारोबार भए पनि सेयर बजार परिसूचक (नेप्से) तीन हजारभन्दा तल झरेको छ । सेयर बजारमा आइतबार नेप्से ३०९४ अंकबाट कारोबार सुरु भएको थियो । साताको कारोबार हुने अन्तिम दिन बिहीबार बजार २९२६.८९ अंकमा झरेर बन्द भएको छ ।

चार दिनमा एक दिनमात्र नेप्से झिनो अंकले बढ्यो भने अन्य दिनमा बजारमा उच्च गिरावट देखियो । नेप्से परिसूचक आइतबार ४९.१९, मंगलबार ६९.०५ र बिहीबार ५०.१३ अंकले घटेको छ । बुधबार भने बजार १.१७ अंकले बढेको थियो । चालू आर्थिक वर्ष सुरु भएसँगै तीन हजारभन्दा माथि उक्लिएको नेप्से भदौ २ गते ३१९८.६० अंकको उच्च रेकर्ड कायम गरेको थियो ।

कोभिड–१९ को महामारीमा पनि अनलाइनमार्फत कारोबार गर्न सकिने व्यवस्थाका कारण पछिल्लो समयमा सेयर बजारमा उत्साह बढिरहेको थियो । सेयर बजारमा लगानीकर्ताको संख्या वृद्धिसँगै बजारमा अन्य क्षेत्रको लगानी पनि थपिएकाले बजारमा उछाल आएको थियो । यसैगरी बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष तथा अप्रत्यक्ष लगानीले पनि बजार बढ्न सघाएको थियो ।नेपाल राष्ट्र बैंकले बैंकहरूलाई अल्पकालीन रूपमा सेयरमा लगानी गर्न निरुत्साहित गर्नुका साथै सेयर धितो कर्जामा पनि कडाइ गरेको छ ।

मौद्रिक नीतिअघि निर्देशन जारी गर्दै केन्द्रीय बैंकले बैंकहरूलाई प्रत्यक्ष सेयरमा लगानी गर्न कडाइ गरेको थियो । यसैगरी चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोेकेको छ । जसका कारण बजार ओरालो लाग्न थालेको विश्लेषण गरिएको छ । बजार घट्न थालेपछि कारोबार रकममा पनि गिरावट आउन थालेको छ । बिहीबार पनि २३० कम्पनीको एक करोड ८१ लाख कित्ता सेयर किनबेच हुँदा नौ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अर्थमन्त्री गुहार्दै लगानीकर्ता मौद्रिक नीति जारी तथा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक स्वायत्त भए पनि मौद्रिक नीतिको व्यवस्था फिर्ता गर्नका लागि लगानीकर्ताहरूले अर्थमन्त्री गुहारेका छन् ।

नेपाल इन्भेष्टर फोरमले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै राष्ट्र बैंकले तोकेको सीमाका कारण बजारमा गिरावट आएको र यसलाई खारेजी गर्न आग्रह गरेका छन् । उनीहरूले सेयर धितो कर्जासम्बन्धी राष्ट्र बैंकको नीति विभेदकारी र अव्यावहारिक भएको र यसले बजारलाई दीर्घकालीन असर पर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्