जुम्लाका कोभिड प्रभावित ३५५ व्यवसायीको पुनस्र्थापना «

जुम्लाका कोभिड प्रभावित ३५५ व्यवसायीको पुनस्र्थापना


खुद्रा व्यापारबाटै घर खर्च, छोराछोरीको पढाई र नुन तेल गर्दै आएका पातारासी ५ लोर्पाका रमेश बुढाको रोजीरोटी कोरोनाले खोस्यो । गरीखाने माध्यम पनि गुम्यो । विगत ४ वर्षदेखि गर्दै आएको व्यापारबाट बुढाले हात धुनु पर्ने स्थिति आयो । एकातिर कोरोनाको त्रास र अर्कोतर्फ बढ्दै गएको व्यापार घाटाले किस्ता कसरी तिर्ने भन्ने चिन्ता थपियो । तर किर्डाक नेपाल व्यवसाय पुर्नस्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार फेरि फष्टाएको छ ।
यस्तै पातारासी ७ की चन्द्रमाया थापालेपनि जुम्ला रारा जाने सडकको उर्थुमा खुद्रा व्यापार गरेकी थिइन् । रारा जाने छोटो मार्ग भएकाले उर्थु पटमारा सडकबाट दैनिक सयौं पर्यटक तथा स्थानीयको आवतजावत हुने भएकाले व्यापार राम्रै थियो । तर पहिलो र दोस्रो चरणको कोरोनाले थापाको व्यापारमा गिरावट आयो । घरखर्च, लुगाफाटो फेर्ने एक मात्र माध्यम खुद्रा व्यापार ठप्प भएपछि चिन्तामा रहेकी चन्द्रमाया थापालाई पनि किर्डाक नेपालले व्यवसाय पुनस्र्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार केही महिनामै फेरि फस्टाएको छ ।
लोर्पाका व्यापारी रमेश बुढाले भने, “कोरोनाले व्यापार घाटामा थियो । ऋण तिर्नै मुस्किल भएको अवस्थामा फेरि आफ्नै लगानीले व्यापार सुचारु गर्न सम्भव नै थिएन् । तर किर्डाक नेपालले सहयोग गरेर व्यापारमा उत्साह थप्यो । अनी राहत महसुस गरें ।”
अहिले थप आफ्नो लगानी गरेर व्यवसायमै जुटेको र घाटामा परेको व्यापार पुनस्र्थापना गर्न थोरै भएपनि सहयोग र उर्जा थपिदिएको बुढाले खुसी व्यक्त गरे ।
यता चन्द्रमाया थापाले सहयोग पाएपछि कोरोना कहरमा पनि हाल व्यापार निरन्तर सञ्चालन भएको बताइन् । किर्डाकबाट प्राप्त सहयोगले दोब्बर कमाई गरेर पनि सामग्री थपेको उनको भनाइ छ ।
कोभिड प्रभावित व्यवसायी पुर्नस्थापित भएका रमेश र चन्द्रमाया एक उदाहरण मात्र हुन् । वल्डभिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित (एकीकृत पोषण तथा उत्थानशील परियोजना) मार्फत कोरोनाबाट प्रभावित जुम्लाका ३ सय ५५ जना व्यवसायीलाई पुर्नस्थापना गरिएको छ । परियोजना सञ्चालन भएको पातारासी, तातोपानी र तिला गाउँपालिकाका ३ सय ५५ जना कोभिड प्रभावित व्यवसायीलाई पुर्नस्थापना गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले बताए ।
उनका अनुसार कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा सहयोग गरिएको थियो । सामग्री सहयोगसहित व्यापार संचालन र लेखाजोखा सम्बन्धी तालिमसमेत प्रदान गरिएको फिल्ड कार्यक्रम प्रबन्धक रावललको भनाइ छ ।
कोभिड प्रभावित पुनस्र्थापित भएका व्यवसायहरुको अनुगमन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले व्यवसाय प्रर्वद्धन, स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धिलगायतका क्षेत्रमा किर्डाकले उल्लेखनीय काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्