Logo

व्यापारघाटा कम गर्न युएइसँग संयुक्त लगानीमा जोड


नेपाल र संयुक्त अरब इमिरेट्सबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप प्रगाढ गर्न सयुक्त लगानीमा जोड दिइने भएको छ ।
नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाकवी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्ने विषयमा छलफल भएको हो ।
द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देशबीच गम्भीर गृहकार्य हुनुपर्नेमा महासंघको जोड छ । दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०/०२१ मा ३६ अर्ब भन्दा बढीको व्यापार घाटा भएको थियो । सन् २०१९/०२० मा करिव १८ अर्ब र २०१८/०१९ मा ३५ अर्बको व्यापार घाटा थियो ।
नेपालले तयारी पोसाक, हाते गलैंचा तथा हस्तकलाका सामानहरू, मुसुुरोको दाललगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चाँदी, खनिज तेल र यससँग सम्बन्धित अन्य उत्पादनहरू, प्लास्टिक तथा प्लास्टिकजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्ने गरेको छ ।
उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड थियो ।
नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइयो ।
हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएईबीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भएके महासंघले जनाएको छ ।
यसका लागि दुवै देशका सरकार–सरकार र निजी क्षेत्र–निजी क्षेत्रबीचको समन्वय र सहकार्यलाई अझ बढाउनुपर्नेमा जोड दिनुपर्नेमा दुवै पक्षले जोड दिए । महासंघका अध्यक्ष गोल्छाले आपसी सम्भव्यतालाई सफल पार्न आर्थिक कुटनीतिको सहयोगको अपेक्षा गरेका छन् । यूएईसँग आर्थिक सम्बन्ध मजबुद बनाउने कार्यमा नेपाली निजी क्षेत्र लालयित रहेकाले सहयोग गर्न अध्यक्ष गोल्छाले राजदूतलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्