निको हुन्छ क्यान्सर «

निको हुन्छ क्यान्सर

भरतपुर- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भेटिएकी फूलबारीकी ६२ वर्षिया खुमाया आले निकै प्रशन्न देखिन्थिन् । उनीजस्तै अन्य महिलाहरु पनि खुशी देखिन्थे । “४ वर्ष पहिले क्यान्सर देखियो, अहिले निको भयो,” खुमायाले भनिन्, “डरलाग्दो रोग भनेर सुरुमा निकै डराएँ, अहिले स्वस्थ छु, रोगले च्यापेको छैन ।”
सुरुमा निजी अस्पतालमा पुगेकी थिइन् उनी । “क्यान्सर छ, बेलैमा आउनुभयो भनेर डाक्टरहरुले भने,” उनले विगत सुनाइन्, “क्यान्सर अस्पतालबाटै उपचार गराएँ, रोग फैलिन पाएको रहेनछ, निको हुन धेरै वर्ष लागेन ।” उनका अनुसार २३ वटा बाहिरी सेकाइ भयो चितवनमा । ३ वटा भित्रि सेकाइ गर्न काठमाडौं नै गइन् । “यहाँको मेसिन बिग्रेकाले काठमाडांै जानुप¥यो,” उनले भनिन्, “अहिले यही बेलाबखत ‘चेकअप’ गर्छु, अहिले ठिक भैसकेको छ रे ।”
माडी–७ कृतनपुरकी गोमा लक्ष्मी आचार्य पनि निकै उत्साहित थिइन् । “निजी अस्पतालमा पाठेघर नै फाल्नुपर्छ भनेका थिए, फेरि अर्को अस्पताल गएर देखाएँ,” उनले भनिन्, “सेकाइ गरे निको हुन्छ भनेपछि क्यान्सर अस्पताल आएँ ।” उनको ३ वर्ष पहिले क्यान्सरको लक्ष्ण देखिएको थियो । “महिनावारी नहँुदा पनि रक्तस्राव हुन्थ्यो, वायोप्सी गर्दा क्यान्सर छ भन्ने पत्ता लग्यो,” उनले भनिन्, “२३ वटा सेकाइ गराएँ, नियमित डाक्टरको फलोअप गरेँ, अहिले ठिक छु ।”
१ वर्षपछि पुनः दिशामा रगत देखिँदा कोलोनोस्कोपी गर्दा क्यान्सर नदेखिएको उनले बताइन् । “बेलैमा उपचार गरे क्यान्सर पनि निको हुँदोरहेछ,” उनी भन्छिन्, “क्यान्सर भन्नेबित्तिकै डराउनुपर्दैन ।”
भरतपुर बसेनीकी ७० वर्षिया दिलमाया विक पनि पाठेघरको मुखको क्यान्सरको उपचारपछि पहिलेकै अवस्थामा पुगेकी छिन् । “खुबै ‘खुन’ बग्थ्यो,” उनले भनिन्, “३÷४ वर्ष पहिलेको रोग छैन, अहिले सञ्चै छु ।” परिवारले बेलैमा उपचार गराएकाले रोग निको हुन सकेको उनको भनाइ छ ।
भरतपुर–१२ की ४९ वर्षिया देवी कुमारी तामाङले पनि रोगलाई जितेकी छिन् । गत भदौमा लक्षण देखिएपछि उनी पनि उपचारमा आइन् । गत कात्तिक २७ गतेदेखि उनले उपचार सुरु गराएकी थिइन् । “रोग लुकाएर बसेको भए ज्यान जान्थ्यो होला,” उनले भनिन्, “लक्षण देखिनासाथ उपचार गराइहालेँ, अहिले खुशी छु ।” उपचारका क्रममा करिब ८ लाख खर्च भएको उनले बताइन् । “पैसा ठूलो होइन, शरीर ठूलो हो,” उनले भनिन्, “रोग लुकाएको भए कहाँ निको हुन्थ्यो र ? उपचार गर्न हिच्कीचाउन हुन्न ।”
उनीहरु सबै गत साता अस्पतालले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेता जमघट कार्यक्रममा सहभागी हुन आएका महिलाहरु थिए । सो अवसरमा नयाँ जन्म पाएको भन्दै ‘वर्थडे केक’ समेत सबैले मिलेर खाए । उनीहरुलाई अस्पतालका कार्यकारी निर्देशकले दोसल्ला ओढाएर सम्मान पनि गरे । जमघटमा चितवन, नवलपुर, मकवानपुरका पाठेघर मुखको क्यान्सरको उपचार पूरा गराएका महिलाको सहभागिता रहेको थियो ।
अस्पतालले हरेक वर्ष पिसाब थैलीको क्यान्सर, दिसाघरको क्यान्सर, व्याग राखिएका क्यान्सरका बिरामीको जमघट गराउँदै आएको थियो । “अबदेखि पाठेघर मुखको क्यान्सरको उपचार पूरा गरेका बिरामीको जमघट गराउँदै लगिनेछ,” अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने, “पाठेघरको मुखको क्यान्सर उपचार सम्भव छ भन्ने सन्देश समाजमा पु¥याउनु छ ।”
उनले विश्व स्वास्थ्य संगठनले निको हुने क्यान्सरका रुपमा पाठेघरको मुखको क्यान्सरलाई सूचीकृत गरेको भएपनि ढिलो उपचारमा आउने र रोग लुकाएर बस्ने प्रवृत्तिले जोखिम बढ्दै गएको बताए । “सचेतनाको खाँचो छ, उपचारबाट निको भएका बिरामी सहितको समाज नै गठन गरिनेछ,” उनले भने, “त्यही समाज मार्फत अनुभव स्थानीयलाई बुझाउने छौँ, रोग निको हुन्छ भन्ने सन्देश दिइनेछ ।” विकसित देशमा पाठेघरको मुखको क्यान्सरको जोखिम घट्दै गएपनि नेपाल जस्तो विकासोन्मुख देशमा जोखिम बढ्दै गएको बताए । “यो रोग लाग्नै नदिन सकिन्छ, लागेमा पनि पूर्ण निको हुनसक्छ,” उनले भने, “तर बेलैमा परीक्षण गर्न नआउँदा जोखिम बढेको छ ।”
अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा. भोला सिवाकोटीले महिलामा लाग्ने क्यान्सर मध्ये २० प्रतिशत क्यान्सर पाठेघरको मुखको क्यान्सर हुने गरेको बताए । “यो क्यान्सर पहिलो वा दोस्रो नम्बरमा पर्दै आएको छ,” उनले भने, “फोक्सो र पाठेघरको मुखको क्यान्सरबाटै धेरै पीडित छन् ।” उनका अनुसार १ सय प्रकारका क्यान्सरमध्ये १० प्रकारका मुख्य क्यान्सरबाटै महिला नै प्रभावित हुने गरेका छन् । “ढिलो पहिचान, खानपीन, जीवनशैलीले नै जोखिम बढाएको हो,” उनले भने, “बेलैमा परीक्षण र उपचार गराए निको हुन्छ ।” क्यान्सर अस्पताल भरतपुरमा उपचारमा आउने ५ हजार जना मध्ये ६ सय जनामा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको उनले बताए ।
अस्पतालकी सिनियर नर्स तारा दवाडीले बेलाबखत परीक्षण गरे पाठेघरको मुखको क्यान्सर भए नभए पत्ता लगाउने बताइन् । “भिआइए परीक्षण निःशुल्क हुन्छ, प्याप स्मेयर परीक्षण गर्दा ४ सय र एलविसी परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क लाग्छ,” उनले भनिन्, “सरल र छरितो विधिहरु छन्, सामान्य खर्चमा रोग पत्ता लाग्छ ।”
भिआइए परीक्षणमा पाठेघरको मुखमा एसिटिक एसीड नामक तरल पदार्थ कपास भिजाएर राखिन्छ । गर्भाशय स्राव (प्याप स्मेयर) परीक्षणमा पाठेघरको मुखको पानीको जाँच गरिन्छ । उच्च प्रविधिको जाँचलाई एलविसी भनिन्छ । “विवाहित भएको ३ वर्षपछि यी परीक्षण गर्नुपर्छ,” उनले भनिन्, “एक पटक परीक्षण गरेपछि साधरणतया ५ वर्ष परीक्षण गर्नुपदैन ।” पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन गरिने परीक्षण हरेक महिलाले गर्नुपर्ने उनले बताइन् । पाठेघरमा संक्रमण भएपछि करिब १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्