बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न माग «

बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न माग


होटल संघ नेपालले बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । संघकी अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने व्यवस्था कार्यान्वयनको माग गरेको हो ।
संघले औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखेर कार्यान्वयन गर्न माग गरेको छ । होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत् महसुल दर कायम गरी उपलब्ध गराउन संघले माग गरेको छ ।
होटल उद्योगलाई उपलब्ध गराएको विद्युत् डिमाण्ड शुल्क छुट कार्यान्वयनमा आउन ढिलाई भएको भदै संघले सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा कम्तिमा एक वर्षसम्म निरन्तरता दिन माग गरेको हो ।
संघले मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरणलगायतका व्यवस्थाहरु तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गर्न पनि संघले माग गरेको छ । संघले यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेकाले होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको माग पनि गरेको छ ।
जवाफमा अर्थमन्त्री शर्माले कोरोनाबाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भएर धान्नै नसक्ने अवस्थामा पुगेको बताउँदै यो उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महत पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्