पुँजीगत खर्च ३ प्रतिशत मात्र «

पुँजीगत खर्च ३ प्रतिशत मात्र

जिल्लास्थित विभिन्न २१ वटा सरकारी कार्यालयहरूले सो अवधिमा पुँजीगततर्फको ३ करोड ६६ लाख ७ हजार ६ सय ५१ रूपैयाँ मात्र खर्च गरेका छन् ।जिल्लास्थित विभिन्न २१ वटा सरकारी कार्यालयहरूले सो अवधिमा पुँजीगततर्फको ३ करोड ६६ लाख ७ हजार ६ सय ५१ रूपैयाँ मात्र खर्च गरेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारअन्तर्गत बाँकेका सरकारी कार्यालयको पुँजीगत खर्च करिव ३ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०७५-७६ मा प्रदेश सरकारअन्तर्गत कार्यालयहरूको पुँजीगत बजेट १ अर्ब २४ करोड ६० लाख ५९ हजार रहेकोमा पुस मसान्तसम्म ३ करोड ६६ लाख मात्र खर्च भएको हो । यो कुल पुँजीगत बजेटको २.९३ प्रतिशत हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार जिल्लास्थित विभिन्न २१ वटा सरकारी कार्यालयहरूले सो अवधिमा पुँजीगततर्फको ३ करोड ६६ लाख ७ हजार ६ सय ५१ रूपैयाँ मात्र खर्च गरेका छन् । जसमध्ये सबैभन्दा बढी पूर्वाधार विकास कार्यालयले ३ करोड १६ लाख ६३ हजार रूपैयाँ खर्च गरेको छ । त्यसैगरी ६ महिनाको अवधिमा डिभिजन बन कार्यालयले १६ लाख १० हजार, मत्स्य विकास केन्द्रले ११ लाख ५५ हजार ९ सय २८, शहरी विकास तथा भवन कार्यालयले ६ लाख ५८ हजार १ सय ७२, बीउ विजन प्रयोगशालाले ६ लाख १८ हजार ७ सय ४३, कुखुरा विकास फार्मले ४ लाख ३९ हजार ३ सय ९८ जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले २ लाख ८९ हजार र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले १ लाख ७२ हजार ८ सय ३९ रूपैयाँ खर्च गरेको प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्माले बताए ।कार्यालयहरूको कुल चालू खर्च ५१ करोड ३० लाख मध्य सो अवधिमा १४ करोड ३३ लाख ५२ हजार ७ सय ८० रूपैयाँ अर्थात् करिव २८ प्रतिशत खर्च गरेका छन् । ६ महिनाको अवधिमा चालू खर्च सबैभन्दा बढी भेरी अन्चल अस्पतालले ५ करोड ६९ लाख ८० हजार रूपैयाँ खर्च गरेको छ । त्यस्तै डिभिजन बन कार्यालयले २ करोड ७७ लाख २६ हजार ४ सय ९० रूपैयाँ खर्च गरेको छ भने चरन तथा घाँसेवाली बीउवृद्धि फार्मले हालसम्म कत्ति पनि खर्च नगरेको कोलेनिकाले जनाएको छ । पुँजीगत बजेटअन्तर्गत विकास निर्माणका लागि खर्च हुने गर्दछ । हालसम्म बजेट ज्यादै न्यून हुनुले यस आर्थिक बर्षमा प्रदेश सरकारअन्तर्गत विकास निर्माण कार्य प्रभावित हुने देखिन्छ ।जिल्लामा प्रदेश सरकारअन्तर्गत कुल १ अर्ब ७५ करोड ९० लाख विनियोजित भएकोमा चालू र पुँजीगत गरी कुल १७ करोड ९९ लाख अर्थात १०.२३ प्रतिशत खर्च भएको कोलेनिकाले जनाएको छ ।
१६ कार्यालयको पुँजीगत खर्च शून्य प्रदेश सरकारअन्तर्गत बाँकेमा २१ वटा कार्यालय सञ्चालनमा रहे पनि पुससम्म पाँच वटा कार्यालयहरूले मात्र पुँजीगत बजेट खर्च गरेका छन । सो अवधिमा १६ वटा कार्यालयहरूको पुँजीगत खर्च शून्य रहेको कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक शर्माको भनाइ छ । ढिलो अख्तियारी आउनु र कार्यालय कुन सरकारको मातहत रहने भन्ने अन्यौलताका कारण रकम खर्च हुन नसकेको शर्माको भनाइ छ । प्रदेश सरकारअन्तर्गतका कार्यालय बाहेक जिल्लास्थित संघीय सरकारअन्तगर्तका सरकारी कार्यालयहरूले पुस मसान्तसम्म १ अर्ब ७९ करोड पुँजीगत र ३ अर्ब १९ करोड चालु बजेट खर्च गरेका छन् । पुससम्म सबैभन्दा बढी संघीय आयोजना कार्यान्वयन ईकाइले ४८ करोड रूपैयाँ खर्च गरेको छ । त्यस्तै पुल आयोजनाले ४५ करोड, सिक्टा सिँचाइ आयोजनाले ४३ करोड र हुलाकी राजमार्ग आयोजनाले २८ करोड रूपैयाँ खर्च गरेको कोलेनिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्