नेपाल र भारतको अर्थव्यवस्था सुदृढ बनाउन सुझाव «

नेपाल र भारतको अर्थव्यवस्था सुदृढ बनाउन सुझाव

भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्न भारतको भूमिका महत्वपूर्ण ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनै पनि देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको भएको दाबीसमेत गरे ।
भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्सक्लब क्लबले आयोजना गरेको विशेष अन्तक्र्रियामा राजदूत पुरीले भने, “भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनै पनि दुई देशबीच छैन ।” उनले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकाले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिए ।
राजदूत पुरीले दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्न बताए । उनले वीरगन्ज–रक्सोलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाए । आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगन्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदूत पुरीले विश्वास दिलाए ।
उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रूपमा सञ्चालनमा आएको सुनाए । काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोधगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको भन्दै उनले अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको बताए । राजदूत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि नेपालको काठमाडौं र अन्य शहरहरूमा ठूलो सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको जानकारी गराए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्विपक्षीय सम्बन्ध इतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरे । नेपाल–भारत द्विपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको भन्दै उनले आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले भारत सरकारको अनुदानमा नेपालको ‘क्रस–बोर्डर’ लाईन निर्माण भइरहेको पनि सुनाए । “जलपाईगुडीदेखि काँकडभिट्टासम्म, जोगबनीदेखि विराटनगरसम्म, नुतन्बादेखि भैरहवासम्म, नेपालगन्जदेखि नेपालगन्ज रोडसम्म निर्माण भैरहेको छ,” उनले भने, “नेपालको यातायात सञ्जालमा भारतको राम्रै सहयोग छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताए । डा. महतले भारतले नेपाललगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताए । नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै उनले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए ।
नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको उल्लेख गर्दै महतले भारतको सहयोग अपरिहार्य रहेको बताए । नेपाल आफैं पनि आन्तरिक रूपमा बलियो हुनुपर्ने भन्दै उनले भारतको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताए । “भारत विश्वकै आर्थिक शक्तिराष्ट्रको रूपमा उदाउँदैछ । यस्तो अवस्थामा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ,” उनले भने “नेपाल आफैँ पनि आन्तरिक रूपमा मजवुत बन्नुपर्छ । लगानीको वातावरण पनि बनाउन सक्नुपर्छ ।”
एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रूपमा देखएको भन्दै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्