लघुवित्त कर्जा निष्प्रभावी «

लघुवित्त कर्जा निष्प्रभावी

कर्जा लिएपछि केमा लगानी गरे, उपलब्धि के रह्यो भन्नेमा कुनै पक्षले चासो नलिँदा महिलाहरू ऋणमा पर्न थालेका हुन् ।

पाँचथर-गाउँगाउँ पुगेर बचत तथा कर्जाको सुविधा दिँदै आएका लघुबित्तको कर्जा प्रभावकारी हुन सकेको छैन । गरिबीको रेखा मुनि रहेका नागरिकलाई पनि व्यवसायिक बनाउने लक्ष्य लिएका लघुबित्तको कर्जा सही सदुपयोग गर्न नसक्दा महिलाहरू उल्टै ऋणमा फस्दै गएका छन् ।
महिलालाई व्यवसायिक बनाउने लक्ष्य राखिए पनि लघु बित्तहरू यो लक्ष हासिल गर्न सकिरहेका छैनन् । कर्जा दिनु र उठाउनु मात्र आफ्नो जिम्मेवारी ठान्ने गरेकाले यस्तो समस्या आउन थालेको हो । महिलाले कर्जा लिएपछि केमा लगानी गरे, उपलब्धि के रह्यो भन्नेमा कुनै पक्षले चासो नलिँदा महिलाहरू ऋणमा पर्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पाएका लघुबित्त बैंकहरूले वितरण गर्ने ऋण उत्पादनमुखीभन्दा उपभोगमुखी बन्दै जाँदा विभिन्न समस्या देखा पर्न थालेका छन । गाउँगाउँमा पुगेर महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ स्थापना गरिएका लघुु वित्तहरूले वितरण गर्ने कर्जा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी बनिरहेको देखिन्छ । लघु बित्तहरूले गाउँगाउँमा गएर बिना धितो १ लाख रूपैयाँसम्म ऋण दिने गरेका छन् । १५ जनादेखि ५० जनासम्मको महिलाको समूह बनाइ बचत गर्ने र ऋण लगानी गर्ने गरिएको छ । पछिल्लो समय लघु बित्तहरूबाट ऋण लिएर महिलाले चामल किनेर छाक टार्ने, विभिन्न चाडपर्व मान्ने र अन्य तिरको ऋण तिर्न प्रयोग गर्ने गर्दा महिलाहरू ऋण माथि ऋण बोक्न थालेका हुन् ।
महिलालाई बचत र कर्जाको सुविधा दिए पनि अनुगमन र तालिम नहुँदा विभिन्न समस्या आउन थालेको मिक्लाजुङ–३ दशमी बजारका बिरेन राईले बताए । लघुबित्तको ऋण तिर्न नसक्दा परिवारमा मनमुटाव हुने, परिवार टुट्नेलगायतका समस्या आउन थालेको राईले बताए ।
पछिल्लो समय लघु वित्तहरू पनि सेवामुखीभन्दा नाफामुखी बन्दै जाँदा यस्ता समस्या आउन थालेका हुन् । लघु बित्तले गाउँ केन्द्रितभन्दा पनि बजार केन्द्रित कारोबार गर्न थालेपछि समस्या देखिएको हो । बजारी क्षेत्रमा सिमित आयस्रोतमा धेरै ऋण लिएपछि महिलाले लघु बित्तबाट लिएको ऋण सही सदुपयोग गर्न नसकेका हुन् ।
एउटै महिला धेरैवटा समुहको सदस्य बन्ने अनि सबैबाट ऋण लिने र एउटा लघु बित्तको ऋण तिर्न अर्को लघु बित्तबाट लिने गरेको पाइएको छ । लगेको ऋणबाट उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्दा महिलाहरू चर्को ब्याज र ऋणमाथि ऋणको बोझ बोक्न थालेका छन । लघु बित्तसम्बन्धी नीति बन्न ढिला गरेमा अझ विकराल अवस्था आउन सक्ने समिट लघु वित्त बैंकका कर्मचारीहरू बताउँछन् ।

दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्