शिक्षामा विदेशी सहयोग बढ्दै «

शिक्षामा विदेशी सहयोग बढ्दै

सरकारले वार्षिक बजेटको सबैभन्दा धेरै हिस्सा शिक्षा क्षेत्रमा छुट्याउँदै आएको छ । ३ वर्षअघि गएको भूकम्पदेखि भने पुनर्निर्माणमा आकस्मिक बजेट दिनुपर्ने बाध्यताका कारण शिक्षा क्षेत्रमा छुट्याउने बजेट दोस्रो प्राथमिकतामा परेको छ ।
सरकारले मात्र हैन विदेशी विकास साझेदारले समेत सामाजिक क्षेत्रमध्ये शिक्षालाई नै प्राथमिकता दिँदै सहयोग गर्दै आइरहेका छन् । सामाजिक क्षेत्रमध्ये शिक्षामा सबैभन्दा बढी विदेशी विकास साझेदारको चासो रहेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहयोग प्रतिवेदन २०१७-२०१८ मा नेपालको शिक्षा क्षेत्रमा करिब २० अर्ब २२ करोड रुपैयाँ सहयोग गरेका छन् ।
अघिल्लो वर्षका लागि यो सहयोग रकम १२ अर्ब ७२ करोड रुपैयाँ रहेको थियो । मुख्य ४ विकास साझेदारहरुले विगत एक दशकमा मात्र नेपालमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा विश्व बैंक (डब्लुबी), एसियाली विकास बैंक (एडीबी), यूरोपियन युनियन (इयू) र जापान मुख्य साझेदार रहेका छन् ।
विदेशी विकास साझेदारले गरेको सहयोगमध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत १८ वटा परियोजना छन् भने दोस्रोमा शिक्षा मन्त्रालय अन्तर्गत १७ वटा परियोजना छन् । शिक्षाका परियोजनाअनुसार हेर्ने हो भने विदेशी विकास साझेदारले दिने सहयोगको सबैभन्दा धेरै रकम विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) र दोस्रोमा उच्च शिक्षा सुधार परियोजनाका लागि रहेको छ । एसएसडीपीका लागि एशियाली विकास बैंक (एडीबी), युरोपियन युनियन (इयू), फिनल्याण्ड र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) रहेका छन् ।
यी विकास साझेदारले ४१ करोड ३१ लाख ५१ हजार अमेरिकी डलर अर्थात् करिब ४१ अर्ब ३१ करोड रुपैयाँ दिने प्रतिबद्धता गरेकोमा सन् २०१७-२०१८ मा ८ करोड ८ लाख ६१ हजार डलर अर्थात् ८ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेका छन । गैरबजेटरी अर्थात् सोभैm अन्तर्राष्ट्रिय गैरसरकारी निकायमार्पmत् विकास साझेदारले नेपालभर रहेका ४९ संस्थामार्पmत् २ अर्ब ३७ करोड सहयोग गरेका छन् । शिक्षा क्षेत्रमा विशेषगरी युनिसेफ, जाइका, अन्तर्राष्ट्रिय विकास संघ, डिएफआइडी, वल्र्ड बैंक, स्वीस विकास साझेदार, इयु, फिनल्याण्ड, नर्वे, विश्व खाद्य कार्यक्रम, भारत, चीन र यूएसएड रहेका छन् ।
एक दशकको अवधिमा मात्र शिक्षा क्षेत्रमा १३ विकास साझेदार निकायहरुले गरेको सम्पूर्ण सहयोग रकम १ हजार ४३३.३८ मिलियन अर्थात् करिब १ खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ हुन आउँछ । त्यसमध्ये १ हजार ११२.८४ मिलियन डलर अर्थात् १ खर्ब ११ अर्ब २८ करोड रुपैयाँ सहयोगमा यी ४ साझेदारले गरेको सहयोग प्रतिबद्धता गरेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो सहयोग शिक्षा क्षेत्रमा विभिन्न विकास साझेदारले दिने सहयोगको ७७.६ प्रतिशत हिस्सा हो । शिक्षा क्षेत्रमा आउने यो विदेशी सहयोगमध्ये ६५ प्रतिशत अनुदान र २९ प्रतिशत ऋण सहयोग रहेको छ । बाँकी प्राविधिक सहयोगको रुपमा आउने गरेको छ ।

सहयोग वृद्धि
विकास साझेदारले नेपालको सामाजिक क्षेत्रमध्ये शिक्षामा धेरै लगानी गरेको विकास सहायता रिपोर्ट २०१८ को तथ्यांकले देखाएको छ । गत वर्षको तुलनामा चालू आवमा शिक्षा क्षेत्रका विकास सहयोग वृद्धि भएको छ । सरकारले दातृ निकायको सहयोगमा सञ्चालन गरिने शैक्षिक कार्यक्रम थप गरेसँगै वैदेशिक सहयोग पनि बढेको छ । विगत २ वर्षमा वैदेशिक सहयोग लगभग ५० प्रतिशतले नै घटेको देखिएको भए पनि यो वर्ष भने बढेको छ । गत आर्थिक वर्ष ऋण र अनुदान गरेर नेपालले १२ अर्ब २७ करोड वैदेशिक सहयोग पाएकोमा चालू आवमा २० अर्ब २२ करोड पुगेको छ । सरकारले ६ वर्षसम्मका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम शुरु गरेपछि तेस्रो वर्षबाट वैदेशिक सहयोग बढेको छ ।
सरकारले राष्ट्रिय बजेट प्रणालीअन्तर्गत शिक्षा क्षेत्रका लागि आएको वैदेशिक सहयोग शिक्षा मन्त्रालय अन्तर्गत मुख्य ८ वटा कार्यक्रमका लागि खर्च गर्दै आएको छ । वैदेशिक सहायताको सबैभन्दा बढी खर्च विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) का लागि गरिनेछ । यो योजना सन् २०१६ देखि २०२२ सम्म सञ्चालन गरिने कार्यक्रम हो । योबाहेक वैदेशिक सहयोगमा यो वर्ष उच्च शिक्षा सुधार आयोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना, सीप विकास परियोजना सञ्चालनमा रहेका छन् । यसैगरी शिक्षाका लागि खाद्य कार्यक्रम, प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रम र पढाइ सिप प्रवद्र्धन कार्यक्रम पनि सहयोगमा नै सञ्चालन हुने मुख्य योजना हुन् ।

 

प्रतिक्रिया दिनुहोस्