थाङकाको कमाई गुम्बामा लगानी

समाज परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले काभ्रे जिल्लाको गोठेपानी गाविसबाट २०४२ सालमा पोखरा आएको लामा परिवार बौद्ध, हिन्दुसहितको धर्मको गुम्बा (मन्दिर) निर्माणमा जुटेको छ । लामा पदम कर्मा छेवाङ ८ वर्षको उमेरदेखि लामा बन्ने इच्छा र चाहानाले अघि बढेका उनी चर्चित लामा गुरुमात्र होइनन् उनीमा थाङका लेख्ने उत्तिकै कला छ ।
व्यक्तिमा ज्ञान, सीप, योग र ध्यान आवश्यक भएको बताउने लामा हाल एक्लो प्रयासमा गुम्बा निर्माण गर्र्ने अभियानमा लागेको बताउँछन् । उनले भने, “मलाई भगवानबाट ज्ञान प्राप्त भएअनुसार नै विश्वकै अनौठो गुम्बा बनाउने भगवानको चाहनाबमोजिम आफ्नो बलबुताले भ्याएसम्म गुम्बा निर्माणमा लाग्दै आएको छु, मलाई आशा छ यो मेरो सपना ढिलै भए पनि पूरा हुन्छ ।” करिब ६ वर्षअघि वैशाख पूर्णिमाको दिन शुभारम्भ भएको उक्त गुम्बाको हाल पक्की भवन निर्माण सम्पन्न भए पनि अब त्यसको फिनिसिङसहितको फर्निसिङ तथा रंगरोगनको काम बाँकी रहेको उनले बताए । उनले भने, “मेरो हालसम्मको कमाइ भनेकै यो एउटा सपना छ, जुन विश्वका विभिन्न धर्मावलम्बी यस गुम्बासम्म ल्याउने र स्थानीयलाई ध्यान र योगा गराउँदै देशमा दिगो शान्तिको कामना गर्ने ।” पोखरा–लेखनाथ महानगरपालिका– १८ स्थित खपौंदी ढल्केवरमा रहेको पाँचतले पक्की उक्त गुम्बा निर्माण गर्न करिब ३ करोड बढी लगानी भएको र बाँकी काम सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपैयाँ आवश्यक भएको लामा छेवाङले बताए ।
कुङा दोर्जे सङग तेर्लिङ गुम्बा नाम राखिएको गुम्बामा १०८ विभिन्न धर्मसम्बन्धी मूर्तिहरू राखिने उनले बताए । उनले भने, “गुम्बामा रहेका मूर्ति जसले १०८ पटक परिक्रमा गर्छ, त्यसको मनोकाँक्षा पूरा हुन्छ, त्यस्तै विश्वकै तीर्थ यात्रा गरेसरह हुने हाम्रो विश्वास छ ।” करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको उक्त गुम्बासँगै लामा परिवारको आश्रयस्थल रहेको छ । उनी भन्छन्, “धर्तीमा हुने ५ वटा अनौठा गुम्बामध्ये हाल निर्माण हँुदै गरेको यो गुम्बा अन्य गुम्बाभन्दा भिन्न किसिमको हुनेछ, जसले आन्तरिकमात्र नभई विश्वका विभिन्न धर्मावलम्बीलाई आकर्षण गर्न सक्छ ।” गुम्बाको बाँकी काम सम्पन्न गर्न आर्थिक अभाव भएको छ ।
लामाको अभियानमा उनकी श्रीमती नोर्किन डोल्मा लामाले उतिकै साथ र सहयोग गरेकी छन् । आफ्नो घरयासी कामका साथै थाङका कलामा डोल्मा निकै सक्रिए छन् । काम गर फलको आशा नगर भन्ने मान्यताले आफ्नो काममा विश्वास गर्ने लामा दम्पत्तीले निर्माण गरेको करिब ५० लाख मूल्यकै थाङका जापानमा समेत प्रदर्शनका लागि लगिएको थियो । उनले निर्माण गरेका थाङका भने अधिकतम ७ लाख रुपैयाँसम्ममा बिक्री भएका छन् ।