स्थानीय तहको अनुमतिमा स्कुल खोल्न सकिने «

स्थानीय तहको अनुमतिमा स्कुल खोल्न सकिने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निशेधाज्ञालाई परिमार्जन गरेर थप खुकुलो बनाएको छ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐनअनुसार जनस्वास्थ्यका मापदण्ड पालना गरेर तोकिएका क्षेत्र सञ्चालन गर्न पाउने निर्णय प्रशासनले गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १७ गतेबाट भदौ मसान्तसम्म लागू हुने गरी क्षेत्रगत रुपमा विभिन्न गतिविधि सञ्चालन गर्न दिने भएको छ ।
शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न–गराउन नपाउने र गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने सूचना जनाइएको छ । तर अनावश्यक रुपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा–महोत्सव, भोज अभैm पनि गर्न पाइने छैन । यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन प्रशासनले अनुरोध गरेको छ ।
यसैगरी सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने छन् । स्थानीय ढुवानी बिहान ९ बजे देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने बताइएको छ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भने पाउने नियम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्