छाउगोठ हैन, छाउघर/कोठाको सोच «

छाउगोठ हैन, छाउघर/कोठाको सोच

जुम्ला तातोपानी–४ को जयतपुर गाउँलाई छ महिनाअघि छाउगोठमुक्त घोषणा गरियो । तर, व्यवहारमा भने अझै लागू हुन सकेको छैन । छाउविराधी अभियन्तासमेत मासिक श्रावका बेला निकै कमजोर छाउगोठमा बस्छन् । जयतपुरकी मन्नु कामी महिनावारी (छाउ) हुँदा पाँच दिन अलगै बस्छिन् । छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुने डरले सोही गाउँकी गोरी रोकाया पनि पाँच दिनसम्म गोठमै बस्छिन् । गाउँका अन्य महिलाको अवस्था पनि उनीहरूकै जस्तो छ । जिल्लाका ८ स्थानीय तहका २ सय १८ गाउँबस्तीमध्ये हालसम्म १७ बस्ती छुईगोठमुक्त घोषित छन् । हियाखोलाकी देवीकन्या आचार्य छाउप्रथाविरुद्ध जति कार्यक्रम सञ्चालन गरे पनि नागरिकको सोचाइ परिवर्तन नभएको बताउँछिन् । छाउ हुँदा घरमा बसे आफन्तले घृणा गर्छन, गोठमा बसे डरत्रास हुने उनले बताइन् । यस्तै सिंजाकी कविता उपाध्याय गाउँमा छाउ मान्नेको संख्या धेरै भएकाले एक–दुई जनाले नमान्दैमा आफैं अप्ठ्यारोमा पर्ने बताउँछिन् । अझ जिल्लाको ब्राह्मण–क्षेत्री समाजभित्र भने अझै छाउमा कडीकडाउ छ ।
निश्चय नै, महिलाहरू जीवनको निश्चित उमेरदेखि निश्चित उमेरसम्म महिनावारी (राजस्वला) हुन्छन् । पहिलो रजस्वलापछि महिलाहरूमा यौवनावस्था सुरु हँुदै क्रमशः विकास हँुदै जान्छ भने सामान्यतया उमेरगत रूपमा सालाखाला ५० वर्षपुगेपछि भने यो मासिक चक्र बन्द हुन्छ । पश्चिमा संस्कृतिमा भन्दा पूर्वीय संस्कृतिमा महिनावारी हुँदा बार्ने चलन छ । अधिकांश नेपाली महिला र नेपाली संस्कृति, समाजले पनि महिनावारी हुँदा बार्छ । पथपरहेजमा बस्छन् । देवीदेवताको स्थल, भान्सा, कोठाचोटा, जुठोचुलो बार्छन् । यी सबै कार्य गर्नु नाजायज हो । महिनावारी हुँदा सदाझैं गरिने भातभान्सा, घरधन्दा गर्दा, कोठाचोटामा सुत्दा वा मठ, मन्दिर, देवालय प्रवेश पाप हुने वा के पाप भयो, केही प्रमाण छैन । हावाको भरमा महिलामा प्रकृतिसम्मत हुने रजस्वलालाई कुचलनको लेपनले अनावश्यक हाउगुजी बनाइएको छ । उक्त समयमा रगत बग्ने हँुदा उनीहरू शारीरिक रूपमा कमजोर हुन सक्छन् । घर, वन वा खेतबारीको काममा, विद्यालय, कलेज जान वा कार्यालय वा अन्य काममा जान केही शारीरिक कमजोरी देखा पर्नुलाई समाजले भने हिजोदेखि आजसम्म कुचलन भन्दै आयो ।
नेपालको कर्णाली र सुदूरपश्चिम क्षेत्रमा चाहिँ रजस्वलाको अवधिमा घरमा भन्दा बाहिर छाउगोठमा छुई (महिनावारी÷रजस्वला) बार्ने गलत तरिकाले जरो गाडेको छ । जसले शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक लगायतका विविध समस्या सिर्जना गरेको छ । सरकार र गैरसरकारी क्षेत्रबाट छाउगोठको कुचलन हटाउन चेतना अभिवृद्धिदेखिका विविध खालका समयसापेक्ष कार्यक्रममा लगानीलगायत हुँदै आएको पनि पाइन्छ, तर पनि यो कुपरम्परा आजपर्यन्त हटाउन सकिएको छैन । यो सबैभन्दा दुःखद पक्ष हो ।
नेपालमा कसैको पनि ध्यान छाउघर÷कोठा बनाउनेतर्फ केन्द्रित छैन । साथै, यो कोठामा सफा, सुरक्षित बनाउनुपर्छ भन्नेमा कुनै सोच बनेको चाहिँ पाइएको छैन । अधिक विरोधचाहिँ छाउगोठको भएको देखिन्छ । छाउगोठ भत्काउने, छाउगोठमा रजस्वला अवधिमा नबस्नेलगायतका चेतना अभिवृद्धिका कार्य भए पनि यसले अझै अपेक्षित नतिजा ल्याउन सकेको पाइँदैन । उता, छाउपडी निर्देशिका, २०६४ मा पनि ‘छाउगोठ’ भन्ने शब्द उल्लेख गरिएको पाइन्छ । निर्देशिकाले ‘छाउघर÷कोठा’को सोच बोकेको पाइँदैन । निर्देशिका मात्रै होइन, स्वास्थ्यको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय तथा स्थानीय सामुदायिक संघसंस्था, राजनीतिक दल, नेता, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्रलगायतमा पनि अहिलेसम्म छाउगोठलाई त्यागेर छाउघर÷कोठाको सोच पलाएको छैन । अझै पनि धन्सार जसको मुनिभागमा पशुचौपाया बान्ने÷थुन्ने गरिन्छ भने त्यसको माथि भाग÷तलामा भान्सा, कोठाचोटा हुन्छ, जसमा सुत्नेलगायत गरिन्छ । यसलाई अन्यथा लिनु हुँदैन ।
अन्धविश्वाससँग विभिन्न डर, भय जोडेर गलत परम्परालाई समाजले बलियो पारेको पनि पाइन्छ । छाउ हुँदा घरभित्र बस्ने वातावरण मिलाउन आग्रह गर्छिन् तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय । “छाउगोठमा बसेकै कारण महिलाहरू बलात्कारदेखि हत्याको सिकार हुनुपरेको छ, जीवजन्तुको डर उत्तिकै छ,” उनले भनिन्, “छोरीचेली घरमै सुरक्षित नभए अन्त कहाँ होलान् ?” नागरिक समाजका अध्यक्ष राजबहादुर महत छाउगोठ हटाउन गरिएको लगानी बालुवामा पानी खन्याएजस्तै भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्