तीन चौथाई मानिसले इन्टरनेट पहुँचका लागि स्मार्टफोन प्रयोग गर्ने «

तीन चौथाई मानिसले इन्टरनेट पहुँचका लागि स्मार्टफोन प्रयोग गर्ने

वासिङटन-इन्टरनेट प्रयोगकर्ताका झन्डै तीन चौथाई अर्थात् ७२.६ प्रतिशत मनिसले आगामी २०२५ सम्मको अवधिमा इन्टरनेटमा पहुँचका लागि स्मार्टफोनको प्रयोग गर्ने भएका छन् । यो झन्डै ३.७ अर्ब मानिसको संख्या हो ।
हाल २ अर्ब मानिसले इन्टरनेटमा पहुँचका लागि स्मार्टफोन प्रयोग गर्दै आएको वल्र्ड एडभरटाइजिङ रिसर्च सेन्टर (वार्क) ले जनाएको छ । यो विश्वव्यापी ३.९ अर्ब मोबाइल प्रयोगकर्ताको विश्वव्यापी आधारको ५१ प्रतिशत हो ।
स्मार्टफोन प्रयोगका धेरैजसो वृद्धि चीन, भारत, इन्डोनेसिया, नाइजेरिया र पाकिस्तानमा हुनेछ । तर यी मुलुकहरुमा आगामी २०२५ सम्म अझैपनि २.४ अर्ब मानिसहरुसँग मोबाइल फोन नहुने प्रतिवेदनमा उल्लेख छ ।
यो तथ्यांकले व्यवसायलाई मोबाइल इन्टरनेटको प्रयोग गरेर आफ्ना उत्पादन बिक्री गर्नका लागि ठूलो सम्भावना दिने छ । गत वर्ष मात्रै मोबाइल एप्सको प्रयोग गरेर १०१ अर्ब डलरको सामग्री बिक्री गरिएको एप एनीलेको रिपोर्टले देखाएको छ ।
उक्त खर्चको झन्डै ४० प्रतिशत हिस्सा चीनको मात्रै रहेको थियो । यसमा भुक्तानी सहितको डाउनलोड, इन–एप खरिद र ग्राहक शुल्क रहेका छन् । धेरैजसो पैसा गेमिङमा खर्च भएको छ ।
पाँचौ पुस्ताको प्रविधि अर्थात् फाइभ–जी यसै वर्ष सुरु हुने अपेक्षा गरिएको छ । यसले पनि डाउनलोडको गतीलाई सुधार गर्ने छ । यसको अर्थ स्मार्टफोनको माध्यमबाट भिडियो हेर्नका लागि सहज हुनेछ । “विज्ञापनदाताहरु उच्च गुणस्तरको विज्ञापनका साथ यी पाठक–दर्शसम्म पुग्नका लागि सक्षम हुनेछन्,”वार्कको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसै महिनाको सुरुमा लास भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा मोबाइल कम्पनीहरुले आफ्नो फाइभ–जी नेटवर्कलाई बढावा दिएका थिए । यसलाई भेरिजोन सीईओ ह्यान्स भेस्टबर्गले क्वान्टम लीपको संज्ञा दिएका थिए । गत साता आईबीएम र भोडाफोनले फाइभ–जी सेवाको प्रविधिमा युरोप र चीनको अमेरिकासँग दुरी कम भएको भन्दै साझेदारीको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्