हङकङ निर्यातमा ढुवानी लागतको चुनौती «

हङकङ निर्यातमा ढुवानी लागतको चुनौती

नेपाली वस्तु निर्यात गर्ने सतही मार्गमा कोलकाता बन्दरगाहमा नै बढी किफायती भएको सन्दर्भमा यसको कार्य प्रणालीमा आईटीको प्रयोग गरी निर्यात सहजीकरण गरिनुपर्छ ।

विश्वमा कोभिडको संक्रमण यद्यपि कायमै रहेको छ । यसको प्रभावका कारण विश्वको अर्थतन्त्र सन् २०२० मा ३.३ प्रतिशतले संकुचन भएको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । नेपाल एकातिर भूपरिवेष्टितताको पीडामा छ भने अर्कातर्फ कोभिडका कारण अर्थतन्त्रमा संकुचन ल्याइदिएको छ । सन् २०२० मा नेपालको कुल गार्हस्थ्य उत्पादनको आकार ३४.४७ अर्ब अमेरिकी डलरमा सीमित हुन पुगेको छ । नेपालको आर्थिक गतिविधिमा आएको संकुचनले गर्दा आर्थिक वृद्धिमा समेत असर परेको छ । आव २०७७-७८ को आर्थिक वृद्धिलाई हेर्दा २.१२ प्रतिशतले ऋणात्मक हुन पुगेको छ । त्यसमा पनि कृषि क्षेत्रको योगदान २५.८ र गैरकृषिक्षेत्रको योगदान ७४.२ प्रतिशत रहेको छ । उत्पादनमूलक उद्योगको योगदान ३.८५ प्रतिशत मात्र छ । विश्व बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादनमा व्यापारको हिस्सा करिब ५४.९ प्रतिशत रहेको छ । यो अंकलाई हेर्दा नेपालको अर्थतन्त्रमा व्यापारी क्षेत्रको योगदान अन्य क्षेत्रको तुलनामा बढी छ, तर वैदेशिक व्यापारको सन्तुलन बिग्रेको अवस्था छ । आव २०७६-७७ को व्यापारको प्रवृत्तिलाई हेर्दा कुल व्यापार १२ सय ९४ अर्ब भएको छ । त्यसमा आयात ११ सय ९६ अर्ब र निर्यात ९७ अर्ब भई व्यापारघाटा १ हजार ९९ अर्ब हुन पुगेको छ । त्यसैगरी निर्यात तथा आयातको अनुपात १ः१२.२५ रहन पुगेको छ । कुल व्यापारमा निर्यातको अंश ७.५५ प्रतिशत छ भने आयातको अंश ९२.४५ प्रतिशत रहेको छ ।
भन्सार विभागका अनुसार नेपालले आर्थिक वर्ष २०७७-७८ मा कुल १६ खर्ब ८० अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो । कुल आयातको हिस्सा १५ खर्ब ३९ अर्ब हाराहारी रहँदा निर्यात १ खर्ब ४१ अर्ब पुगेको थियो । आव २०७७-७८ मा नेपालको कुल व्यापारघाटा १३ खर्ब ९८ अर्ब हाराहारी रह्यो । निर्यात व्यापारतर्फ आर्थिक वर्ष २०७६-७७ मा १२ अर्ब ६९ करोड रुपैयाँबराबरको मात्रै सोयाबिनको तेल निर्यात गरेको नेपालले आव २०७७-७८ मा यसलाई झन्डै पाँच गुणाले बढाएको छ । आव २०७७-७८ मा नेपालबाट ५३ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरै सोयाबिनको प्रशोधित तेल निर्यात गरेको छ । दोस्रो ठूलो निर्यातमा सिन्थेटिक यार्न धागो छ भने तेस्रोमा ऊनी गलैंचा छ । आव २०७६-७७ मा ७ अर्ब १९ करोडभन्दा धेरैको धागो निर्यात भएकोमा २०७७-७८ मा उक्त निर्यात बढेर ८ अर्ब ३६ करोड हाराहारी पुगेको छ । यस्तै २०७६-७७ मा ६ अर्ब १५ करोडको निर्यात रहेको छ । उनी गलैंचा २०७७-७८ मा ७ अर्ब २४ करोडभन्दा धेरै छ । यस्तै अलैंची, रेडिमेड कपडा, जुट र यसबाट बनेका वस्तु, फलफूलको जुस क्रमशः निर्यात बढी मात्रामा हुने वस्तुहरूको सूचीमा छन् । यस्तै जमोठ कपडा, चिया र विभिन्न प्रकारका अन्य कपडाहरू प्रमुखव निर्यातका वस्तुहरू हुन् । त्यसैगरी प्रमुख रूपमा आयात हुने वस्तुहरूमा डिजेल, एमएस ब्लेड, भटमासको कच्चा तेल, मोबाइल टेलिफोन, एलपी ग्यास, पेट्रोल, रेडिमेट गार्मेन्ट, पोलिथिनको दाना, चामल तथा सुनजस्ता प्रमुख रूपमा आयात गरिने वस्तुहरू रहेका छन् ।
नेपालको वैदेशिक व्यापारमा हङकङको अंश ठूलो छैन । तथापि नेपाल र हङकङबीचको व्यापारको प्रवृत्तिलाई हेर्दा ठूलो घाटा रहेको देखिन्छ । सन् २०१९ को तथ्यांकलाई अवलोकन गर्दा निर्यात ३३ करोड र आयात १३० करोड अर्थात् व्यापारघाटा करिब ८१ प्रतिशत छ । यो तथ्यले नेपालको निर्यात व्यापारघाटा उच्च रहेको देखिन्छ ।
व्यापारघाटाको विविध कारणमध्ये हङकङमा नेपाली वस्तुको माग कम हुनु पनि एक हो । यहाँ नेपाली सामानको व्यापार बढ्न सकेको छैन । तथापि यहाँ बिक्री हुने नेपाली वस्तुहरूमा मूलतः रेस्टुराँमा प्रयोग हुने ड्रिंक्सहरू जस्तो खुकुरी रम, खाद्यान्नमा दाल, चिया तथा कफी, दालमोठ, चाउचाउ, नुन, मसला, तरकारी, कस्मेटिक्सका सामान छन् । त्यसैगरी ह्यान्डित्र्mयाफ्टमा नेपाली खुकुरी, बुद्धका मूर्ति, थाङ्का, ढलोटका हिन्दू धर्मसँग सम्बन्धित मूर्तिहरू तथा अन्य सुभेनियरका सामानहरूको माग बढी छ । त्यसैगरी माग बढी भएका नेपाली वस्तुहरूमा ग्लोसरीका सामान पनि पर्दछ । यसको माग ३५ प्रतिशत छ । यो अन्य नेपाली वस्तुको तुलनामा बढी प्रतिशत हो । त्यसैगरी १७ प्रतिशत चिया तथा कफीजन्य वस्तुको माग भने १६ प्रतिशत हर्बलजन्य उत्पादनको माग छ । त्यसैगरी १६ प्रतिशतले नै हस्तकलाका वस्तुको माग रहेको छ ।
हङकङमा नेपाली उत्पादनका वस्तुहरूको नियमित आपूर्ति हुन सकेको छैन । साथै प्याकेजिङ तथा ब्रान्डिङको समस्या पनि प्रमुख समस्याको रूपमा रहेको छ । नेपालको उत्पादनका वस्तुहरू अन्य देशका वस्तुको तुलनामा गुणस्तर कमजोर छ भने प्याकेजिङ तथा ब्रान्डिङमा पनि समस्या देखिएको छ । यही कारणले गर्दा नेपाली वस्तुप्रति यहाँ रहेका ग्राहकहरूलाई आकर्षण गर्न सकिएको छैन । यी र यस्ता कारणले गर्दा नेपालको हङकङसँगको निर्यात व्यापार नेपालको पक्षमा हुन सकेको भन्ने छैन ।
नेपाली वस्तुहरू हङकङसम्म ल्याउने सहज मार्गको कमी छ । ढुवानीको मार्ग भए तापनि लागत बढी लाग्ने हुँदा वस्तुको लागत बढी पर्ने भएकाले नेपाली वस्तुले भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न सकेको छैन । यसको मूल कारण ढुवानी लागत बढी हुनु नै हो । नेपालबाट हङकङसम्म कार्गो पठाउने मुख्य गरेर चारवटा नाकाहरू रहेका छन् । नेपालको तातोपानीबाट गोन्जाओ हँुदै हङकङसम्मको मार्ग प्रयोग गर्दा १ सीबीएम सामानको ढुवानी लागत करिब रु. १० हजार ५ सयसम्म पर्छ भने १५ देखि १८ दिन समय लाग्ने गरेको छ । त्यसैगरी नेपालको रसुवागढीबाट केरुङ हुँदै गोन्जाओबाट हङकङसम्मको मार्ग प्रयोग गर्दा लागत करिब रु. ११ हजारसम्म पर्छ र समय २० देखि २२ दिन लाग्ने गरेको छ । वीरगन्ज हुँदै कोलकाता अनि सिंगापुरको मार्गबाट गोन्जाओ हुँदै हङकङसम्म मार्गको प्रयोग गर्दा लागत करिब रु. १६ हजार ५ सयसम्म पर्छ भने २० देखि २५ दिन लाग्छ । त्यसैगरी नेपालबाट हवाई मार्ग हुँदै सीधै हङकङसम्म सामान निर्यात गर्दा १ केजी सामानको ढुवानी गर्दा नेपालबाट हङकङसम्मको भाडा करिब रु. ५ सयदेखि ६ सय र हङकङदेखि काठमाडौंसम्मको लागत रु. ९ सयदेखि रु. ९ सय ५० सम्म पर्ने गरेको छ भने ढुवानी समय भने एक दिन लाग्ने गरेको छ । यी रुटहरूको ढुवानी लागतको विश्लेषण गर्दा कोलकाता नाकाबाट ढुवानी गर्दा तुलनात्मक रूपमा किफायती देखिन्छ, तर समय भने अझै बढी नै लाग्ने गरेको छ ।
ढुवानी भाडा महँगो भएकै कारण नेपाली वस्तुको मूल्य हङकङमा भारतीयभन्दा महँगो पर्ने गरेको छ । दालमा ७५ प्रतिशत, राजमा ६२ प्रतिशत, आलुमा ५०, प्याजमा ३३, चिउरामा ३३, वाइवाई चाउचाउमा ३७ तथा चियामा १० प्रतिशतसम्म महँगो परेको अवस्था छ । यो अवस्थामा नेपाली वस्तुको निर्यात बढाउने कुरा सजिलो छैन । नेपालमा उत्पादित वस्तुलाई हङकङसम्म ल्याउन सतह मार्ग पनि महँगो छ भने हवाई भाडा पनि त्यत्तिकै महँगो भएको सन्दर्भमा यसलाई घठाउनका लागि तत्कालमा भाडामा सहुलियत दिनुको विकल्प छैन । नेपाली वस्तु निर्यात गर्ने सतही मार्गमा कोलकाता बन्दरगाहमा नै बढी किफायती भएको सन्दर्भमा यसको कार्य प्रणालीमा आईटीको प्रयोग गरी निर्यात सहजीकरण गरिनुपर्छ । यसका साथै वस्तुको विविधीकरण गरी गुणस्तरमा समेत ध्यान दिन सकेको खण्डमा नेपाल र हङकङबीचको व्यापारघाटा कम हुन गई समग्र वैदेशिक व्यापारमा भरथेक हुन जाने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्