Logo

आहा रारा गोल्डकप फागुन ९ बाट

नेपालको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष भने १० दिनमा खुम्चिएको छ । क्याराभान गोल्ड कपसहित यसअघि १७ औं संस्करण सम्पन्न गरेको क्लबले यस वर्ष १२ दिनको खेललाई घटाउँदै १० दिनमा गर्ने तयारी गरेको हो ।
एन्फाका कारण यसपटक प्रतियोगिताको अवधि आउँदो फागुन ९ देखि १८ गतेसम्म १० दिनमा खुम्चित पुगेको सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बताए । उनले भने, “आहा रारा फुटबल प्रतियोगिताको इतिहासमै १२ दिनसम्म सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता यसपालि एन्फाले खेल तालिका १० दिनको लागि मात्र दिएको हँुदा १० देखि १२ टिमसम्म सहभागि गराउने प्रयास गरेका छौं । ”
१७ औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, आयोजक सहारा क्लब तथा पोखराको टिमहरुको सहभागिता हुने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगितामा पुरस्कारको राशि भने वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले उपाधिसहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार तथा साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्षको तुलनामा यस वर्ष विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार पुरस्कार राशि वृद्धि गरिएको हो ।
यसअघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्डकप हुने एन्फा केन्द्रले खेलतालिका सार्वजनिक गरेको थियो । पोखरामा अर्काे फुटबल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भएपछि क्लबले पुनः अर्को मितिमा उक्त प्रतियोगिता गर्न मिति माग गरेको थियो ।
मनकामना केबलकार पोखरा कप यही माघ १५ देखि २६ गतेसम्म पोखरामा हुने भएको छ । गत वर्षको विजेता नेपाल पुलिस क्लव हो । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ पोखरा रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगिताबाट १ करोड ३० लाख एक हजार आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव विश्वराज बरालले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ९७ लाख ९८ हजार लाग्ने भएको छ भने प्रतियोगिताबाट ३२ लाख २ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
बचत रकमलाई क्लबले कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मिलित सहारा फुटबल एकेडेमीमा लगानी हुने भएको वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङले बताए । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल वा स्कुटरमध्ये एक पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी एक जनालाई नगद ३५ हजारको साथमा सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्