अस्पतालबाट प्रसूति सेवा लिनेलाई ६ हजार प्रोत्साहन «

अस्पतालबाट प्रसूति सेवा लिनेलाई ६ हजार प्रोत्साहन

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालबाट प्रसूति सेवा लिने महिलालाई नगद करिब छ हजार रुपैयाँ प्रोत्सहान स्वरुप दिने भएको छ ।
सोमबारदेखि प्रसूति सेवा दिन थालेको वीरेन्द्रनगर नगर अस्पतालमा सेवा लिने महिलालाई वीरेन्द्रनगर नगरपालिकाले उक्त प्रोत्सहान रकम दिन थालेको हो । पोषण खर्च दुई हजार, गर्भवती उत्प्रेरणा÷यातायात खर्च दुई हजार आठ सय र एम्बुलेन्स यातायात भाडा एक हजार गरी जम्मा पाँच हजार आठ सय रुपैंयाँ प्रोत्सहान रकम दिएको छ । पहिलो प्रसूति सेवा लिने वीरेन्द्रनगर १३ कि मानकुमारी कोइरालालाई उपप्रमुख मोहनमाया ढकालले सोमबार आफै उपस्थित भई प्रोत्साहन रकम हस्तान्तरण गरिन् ।
मातृ मृत्युदर जोखिम कम गर्नका लागि गर्भवती सुत्केरी महिला नियमित अस्पतालमा आउन भनेर यो सेवा सुरु गरिएको उपप्रमुख ढकालले बताइन् । उनले नियमित स्वास्थ्य जाँच गरेवापत, स्वास्थ्य संस्थामा आई सुत्केरी भएको खण्डमा एम्बुलेन्सको भाडासमेत गरेर पाँच हजार आठ सय रुपैंयाँ सबै महिलाले पाउने जानकारी दिइन् ।
“हाम्रो एम्बुलेन्स प्रयोग नगरी आएको खण्डमा हामीले एम्बुलेन्स भाडा भनेर एक हजार थपेर दिएका हौं । हाम्रो एम्बुलेन्समा आएको खण्डमा उहाँहरूलाई त्यो रकम दिन सकिँदैन ।” उनले भनिन्, “नगरपालिकामा अहिले पनि घरमै सुत्केरी हुने समस्या देखिएकाले त्यसलाई हटाउन यो व्यवस्था लागू गरेका हौं ।” नगरपालिकाले महिला तथा नवजात शिशुको अवस्था राम्रो होस् भनेर प्रोत्साहन गरेको उपप्रमुख ढकाललको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्