कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल «

कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल

दमौली-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् । कम्युनिष्ट नेता एकदेव आलेको ५० औं स्मृति दिवसको अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दमौलीमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भनेजस्तो अधिनायकवादी हुन नसक्ने दाबी गरे ।
वरिष्ठ नेता नेपालले हुकुमी शासन लाद्ने र देशमा अधिनायकवाद आउने कसैले सोचेको छ भने त्यस्तो सोच त्याग्नुपर्नेमा जोड दिए । चुनावबाट काङ्ग्रेस विस्थापित भएपछि छटपटाएको आरोप लगाउँदै वरिष्ठ नेता नेपालले जनताकै सेवाको लागि सरकार गठन भएकोले वर्तमान सरकार जनताबाट टाढा भाग्न नसक्ने बताए ।
उनले सरकारको बारेमा आएका गुनासो जायज भए त्यस्ता जायज गुनासोलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै भने, “जनताको सेवा गर्ने भावनाबाट पछि हटे, आफूखुशी चल्न थाले जनताले विश्वास गर्दैनन् ।”

निरन्तर जनताको पक्षमा काम गरेकोले जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिएको चर्चा गर्दै वरिष्ठ नेता नेपालले जनताको विश्वास र समर्थनलाई पूरा गर्ने तर्फ सरकार अघि बढेको दाबी गरे । उनले जनताको मन र विश्वास जित्नेतर्फ सरकार अघि बढेको बताउँदै भने, “विकासको गतिलाई तीव्र बनाउँदै सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सरकार दृढ भएर लागेको छ ।”
वरिष्ठ नेता नेपालले पार्टी एकीकरणमा ढिलाइ हुँदा अलमल भएको भन्दै चाँडै नै तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्गोमा पुग्ने बताए । उनले पार्टी सङ्गठन नहुँदा समस्या उत्पन्न भएकोले पार्टी एकीकरणमा विलम्ब गर्न नहुनेमा जोड दिँदै भने, “छिट्टै नै पार्टीको एकता प्रक्रिया टुङ्गोमा पुग्छ ।” असम्भव ठानिएका कामलाई सम्भव बनाउने क्षमता स्वर्गीय एकदेव आलेमा रहेको चर्चा गर्दै वरिष्ठ नेता नेपालले एकदेव आलेको साधा जीवनलाई सबैले अङ्गीकार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको समृद्धि अहिलेको आवश्यकता रहेकोले त्यसतर्फ सरकार अघि बढेको बताए । सरकार गठन भएको छोटो अवधिमा सरकारले धेरै काम गर्न नसकेपनि राम्रो काम गरेको चर्चा गर्दै उनले सरकारलाई सफल बनाउने तर्फै सबैले ध्यान दिनुपर्ने बताए । सङ्घीयतालाई गलत ढङ्गले बुझ्न नहुनेमा जोड दिँदै सङ्घीयताको प्रयोग सही ढङ्गमा अगाडि बढिरहेको समेत उनको भनाइ थियो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले सैद्धान्तिक सहमति भए नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न तयार रहेको बताए । पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेलले दुई तिहाइको सरकार असफल बनाउने षड्यन्त्र भएकोले त्यस्ता षड्यन्त्रलाई चिर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्