Logo

चितवनका इँटा उद्योग संकटमा


चितवनका इँटा उद्योग संकटमा परेका छन् । ४० वटा उद्योगमध्ये गत वर्ष २ मात्र सञ्चालनमा थिए । चितवन इँटा व्यवसायी संघका अध्यक्ष नारायण सापकोटाले उद्योग विस्थापित हुने अवस्थामा पुगेको बताए । “यो वर्ष मुस्किलले ३–४ उद्योग चल्छन् होला” उनले भने, “गत वर्ष १६ उद्योग चलेनन् ।” संघमा ७ वर्ष यता १८ उद्योगहरु आवद्ध छन् ।
चितवनको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौसम्म बिक्री हुने गथ्र्यो । “लगानी डुबेपछि धेरैले उद्योग चलाउन छाडेका छन्” उनले भने, “सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन ।”
राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको संगम इँटा उद्योग गत वर्ष चलेका थिए । “माटो सहजै पाइँदैन, कोइला ल्याउन भारतको भर पर्नुपर्छ” उनले भने, “लागत बढेपछि प्रतिस्पर्धा गर्नै कठिन छ ।” भारतीय सीमा नजिकका पूर्वी नेपालका इँटा सस्तो पर्छन् । खेतीयोग्य जग्गा घडेरीमा परिणत हुन थालेपछि माटोको मूल्य पनि महंगिएको छ । प्रति ट्रिपर ५–६ हजार खर्चेर माटो किन्नुपर्ने बाध्यता छ । सापकोटाको २० वर्ष पुरानो त्रिशुल इँटा उद्योग पनि गत वर्षदेखि बन्द छ । “कर्जा र करमा राज्यले सहुलियतको सुविधा दिएन” उनी भन्छन्, “फेरि लगानी गर्न पुँजीको अभाव छ ।”
इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सकेका छैनन् । “कच्चा पदार्थ नै महंगिएको छ, लगानी उठाउने अवस्थै रहेन” उनले भने, “विस्थापित नै बन्नुपर्यो ।” गत वर्ष आंशिक रुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यो वर्ष अन्यौलमा छन् । “गत वर्ष मुस्किलले उत्पादन गरेको ९० प्रतिशत इँटा बिक्री नै भएन” उनले भने, “डेढ महिनामा बिक्री नभए यसपालि उत्पादन गर्न रोक्नेछौं ।”
पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि चितवनका गुणस्तरीय इँटा खपत हुन सकेको छैन । “काँँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति पाइँदैन, बिमा पनि छैन” उनले भने, “जोखिम मोलेर उद्योग चलाउन कठिन छ ।” इँटाका लागि गिटी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनको स्थितिमा पुगेका छन् । कोभिड–१९ को संक्रमणका कारण तराइ तथा भारतबाट कामदार ल्याउन समेत सकेका छैनन् । चितवनमा ७ वर्ष पहिले ८ हजारले रोजगारी पाएका थिए । एउटा उद्योग चलाउन सरदर ३ करोड लगानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्