भारतद्वारा सहयोग हस्तान्तरण «

भारतद्वारा सहयोग हस्तान्तरण

भारतले आफ्नो ७० औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई विभिन्न सहयोग हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीले शनिबार एक विशेष कार्यक्रमबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
दिवसकै अवसर पारेर राजदूतले २ वीर नारी, ९ एकल महिला र ३ मृतक सैनिकका निकटतम नातेदारलाई ७ करोड २६ लाख रुपैयाँ नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् । सो अवसरमा भूपू सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहो-याउँदै भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भूपू सैनिकका लागि गरिएका कल्याणकारी पहलबारे उल्लेख गरिएको भूपू २०१८ पत्रिकाको पनि विमोचन भएको थियो ।
यस्तै उक्त दिवसको अवसरमा राजदूतले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गरेका छन् । सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ । राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदानस्वरूप प्रदान गर्ने पनि घोषणा गरेको छ ।
सो अवसरमा नेपाल–भारत कूटनीतिक सम्बन्धको ७ दशक पुगेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन र राजदूतले संयुक्त रुपमा ‘भारत र नेपाल–कूटनीतिक सम्बन्धको ७० वर्ष’ नामक पुस्तकको विमोचन गरियो । राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा झन्डोत्तोलन गर्दै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्