जैविक विविधता संरक्षणका लागि पोखरा घोषणापत्र जारी «

जैविक विविधता संरक्षणका लागि पोखरा घोषणापत्र जारी

कास्की-जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलनका लागि प्रादेशिकस्तरीय नीतिगत १२ बुँदे घोषणा जारी भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले गण्डकी प्रदेशमा वन क्षेत्रको संरक्षण गर्दै वनजन्य उत्पादनबाट आमनागरिकले लाभ लिनुपर्ने बताए ।
वन पैदावारबाट सीमान्तकृत नागरिकलाई आयआर्जनका क्रियाकलापमा संलग्न गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी उपसभामुख सिर्जना शर्माले प्रदेश सभाले वन र वातावरणसँग सम्बन्धित कानुन मस्यौदा गरेको सन्दर्भमा जैविक विविधता र जलवायु परिवर्तन अनुकूलन छलफल उपयोगी हुने बताइन् । कांग्रेस नेता कृष्णचन्द्र पोख्ररेलले नेपालीले कानुन निर्माण सत्तापक्ष र प्रतिपक्षको हितमा भन्दा राष्ट्रिय हितमा लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।
विश्व वन्यजन्तु कोषका सुशासन तथा नीतिविज्ञ एकराज सिग्देलले वातावरण विनासलाई रोक्न संघ, प्रदेश र स्थानीय सरकारले एकीकृत वातावरणमैत्री कानुन बनाउनुपर्ने बताए । वनविज्ञ अरुण शर्मा पौड्यालले जैविक विविधता एवं जलाधार क्षेत्र संरक्षणका लागि कानुनी जटिलता रहेकाले त्यसलाई कानुनी स्पष्टता बनाउनुपर्नेमा जोड दिएका छन् ।
जलवायु परिवर्तनविज्ञ किशोरचन्द्र गौतमले जलवायु परिर्वतन अनुकूल योजनाको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्