सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली «

सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली

PM KP Sharma Oli during the video conference meeting with chief ministers from the seven provinces. Photo Courtesy: Rajan Kafle/Secretariat of Prime Minister of Nepal

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् ।
नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताएका हुन् ।
उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए । उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गरे ।
अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए । उनले भने, ‘अहिले सबैभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो । अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकडम गरेर, स्वार्थका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा । त्यो चिन्ताको विषय होइन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ ।’
उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्