तल्लोखारे हाइड्रोको प्रगति ७५ प्रतिशत «

तल्लोखारे हाइड्रोको प्रगति ७५ प्रतिशत

दोलखा-गौरीशंकर गाउँपालिका–५, सुरीदोभान निर्माणाधीन तल्लो खारेखोला जलविद्युत् आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजनाले आउँदो ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको हो ।
युनिभर्सल पावर कम्पनीले निर्माण गरेको आयोजना २ वर्षअघि अर्थात् २०७३ मंसिरबाट सुरु गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष विनय भण्डारीले २ वर्षमा आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगको जानकारी दिए । आयोजना आयोजनाको सिभिल निर्माणअन्तर्गतका हेडवक्र्स, डिस्यान्डर बेसिन, वाटरवेको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको हेडवक्सदेखि पावर हाउससम्मको पेनस्टक पाइप जडान, पावर हाउस निर्माणको कामसमेत एक साथ जारी छ । केही समयपछि सुरीदोभानदेखि सिंगटीसम्मको प्रसारण लाइनको कामसमेत सुरु हुने उनले जानकारी दिए । पावर हाउसभित्रको उपकरण ढुवानी, जडानसँगै प्रसारण लाइनको काम पनि पूरा गर्ने गरी समानान्तर रूपमा काम अघि बढेको उनले बताए ।
गौरीशंकर गाउँपालिका–५ सुरीदोभानदेखि कालिञ्चोक गाउँपालिका–३ सिंगटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म कम्पनी आफैंले प्रसारणलाइन निर्माण गर्ने आयोजनाका प्रबन्धक अनुप थापाले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको सबस्टेसनसम्म पु¥याउन सिंगटीसम्म १३२ केभीको साढे ४ किमि प्रसारणलाइन निर्माण गर्नुपर्छ ।
आयोजना गौरीशंकर गाउँपालिका–६ दुम्सिदिङमा बाँध निर्माण भएको छ । त्यसैगरी हेडवक्सदेखि पावरहाउससम्म पानी ल्याउँन ३.३ किमि स्टिल पेनस्टक पाइप जडान कार्य जारी छ । पेनस्टक पाइपको काम अब ९ सय मिटर मात्र बाँकी रहेको प्रबन्धक थापाले जानकारी दिए । आयोजनाको ग्रस हेड १ सय ४० मिटर छ ।
आयोजनाबाट सुक्खा मौसममा १ करोड १५ लाख २७ हजार २ सय किलोवाट र वर्षात्को मौसममा ५ करोड १२ लाख ४ हजार ५ सय ५१ किलोवाट गरी कुल ६ करोड २७ लाख ३१ हजार ७ सय ५१ किलोवाट वार्षिक विद्युत् उत्पादन गर्ने प्रबद्र्धक कम्पनीको लक्ष्य छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा ऋण लगानी रहेको छ ।

स्थानीयका लागि सेयर जारी
कम्पनीले पुस १५ गतेदेखि आफ्नो जारी पूँजी दुई अर्ब १० करोड तीनलाख ५० हजारको १० प्रतिशतले हुने २१ करोड ३५ हजार रकम बराबरको २१ लाख तीन सय ५० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गौरीशंकर, कालिन्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि आवेदन पनि खुल्ला गरिसकेको छ ।
स्थानीयका लागि माघ १३ गतेसम्म आवेदन गर्ने समय राखेको छ । गुरुम्फीमा रहेको हिमालयन बैंक, सिंगटीमा रहेको सेञ्चुरी बैंक र सिन्धु विकास बैंक, चरिकोटमा सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, सेञ्चुरी बैैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकबाट आवेदन गर्न सक्नेछन् । तर कम्पनीले आयोजना निर्माणाधीन भएकाले २ वर्षपछि मात्र बोनस दिनसक्ने उल्लेख गरेको छ ।
यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ । स्थानीयबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई जोडेर बिक्री गरिने छ ।
आयोजना २ अर्ब ४ करोड ६० लाखको लागतमा निर्माण गरिएको छ । तर सिंगटी लामोसाँघु प्रसारणलाइन निर्माण हुन ढिला भएरमा आयोजनाको लागतसमेत बढ्न सक्ने देखिन्छ । तर अहिले निर्माणाधीन निजी क्षेत्रका आयोजनामध्ये यो आयोजना तुलनात्मक रूपमा सस्तो रहेको कम्पनीका अध्यक्ष विनय भण्डारीले दाबी गरे ।
तल्लो खारेखोला आयोजना निर्माणका लागि युनिभर्सल पावर कम्पनीमा क्लिन इनर्जी डेभलपमेन्ट (सीईडी) फण्डको मुख्य सेयर रहेको छ । जलविद्युत् आयोजना निर्माण गरेको लामो अनुभव भएको टिम यसमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्