Logo

पर्यटक आकर्षण गर्न घुमाउने घर संरक्षण

लमजुङ-लमजुङका ग्रामीण भेगमा भेटिने परम्परागत घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन् । आधुनिक संरचनाको नमुना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् ।
परम्परागत गोल घर लोप हुँदै गएपछि जिल्लाका पर्यटकीय गाउँमा भने संरक्षण नै थालिएको छ । अत्यधिक पर्यटकको चाप रहेको घलेगाउँमा पर्यटकीय आकर्षको लागि तीनवटा घुमाउने घर संरक्षण गरिएको छ । “घुमाउने घर अब कसैले बनाउँदैन, पुरानो घरलाई जोगाएर राखेका छौँ,” घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले भने । उनले पर्यटकलाई देखाउनकै लागि घुमाउने घर संरक्षण गरिएको बताए ।
सहरी क्षेत्रमा परम्परागत शैलीका घर तथा भवन पटक्कै देख्न पाइँदैन । पछिल्लो समय ग्रामीण भेगमा पनि परम्परागत शैलिमा निर्माण भएका संरचना भेटाउन मुस्किल हुन थालेको छ । आधुनिक शैली भित्रिएसँगै पुरानो शैलीका संरचना भत्काउँदै गर्दा परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेका सरोकारवाला बताउँछन् । जिल्लाका पर्यटकीय क्षेत्र घलेगाउँ, सिउँरुङ, राईनासलगायतका पर्यटकीय गाउँमा भने घुमाउने घरलाई संरक्षण गरिराखिएको छ ।
गाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटक घुमाउने घरमा निकै रमाउने गरेको स्थानीय सिउरुङ पर्यटन व्यवस्थापन समिति सचिव उमरबहादुर गुरुङले बताए । उनले पर्यटकका लागि गाउँमा ६ वटा घुमाउने घर संरक्षण गरिएको बताए । “आन्तरिक तथा बाह्य पर्यटक घुमाउने घर रुचाउँछन्,” गुरुङले भने, “पाहुनाहरू गोलो घरमा फोटो खिच्न, भित्र बसेर खाजा खान पाउँदा धेरै खुसी हुन्छन् ।”
परम्परागत घुमाउने घर पर्यटकको रोजाइ भएकाले पनि पर्यटकीय गाउँमा यसको उचित संरक्षण आवश्यक रहेको पर्यटन व्यवसायी बताउँछन् । परम्परागत घुमाउने घरमा संस्कृति, मौलिकता लुकेको पर्यटन व्यवसायी कृष्ण ओलिया बताउँछन् । पुरानो मौलिक सम्पदामा धेरैको आकर्षण रहेको भन्दै त्यस्तै सम्पदाको समुचित प्रयोग गरी व्यवसाय अघि बढाउनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।
जिल्लामा एकदशक अघिसम्म पनि सयौँको संख्यामा रहेका घुमाउने घर अहिले औँलामा गन्न सकिने मात्रामा छन् । कतिपय गाउँमा पुराना खरले छाएका घुमाउने घरलाई मर्मत गरी ढुंगा तथा टिनले छाएर राखिएको छ भने कतिपय गाउँमा नमुनाको रूपमा मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस्