सुन्तलाबाट जाम बनाउन तालिम «

सुन्तलाबाट जाम बनाउन तालिम

दमौली-भिमाद नगरपालिका–९ का महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । बिक्री नभएर त्यसै फालिएको सुन्तलाको उपयोग गर्दै महिलाहरूले जाम बनाउने सीप सिक्न थालेका हुन् ।
अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था र नेपाल ख्रिष्टियन पाइमीले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाबाट जाम बनाउने सीप सिकाउन थालेको महिला सहकारी संस्थाका अध्यक्ष देवीमुक्तान आलेले बताइन् । उनले भनिन्, “सहकारीमा आबद्ध महिलालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँघरमै रहेको सुन्तलाबाट जाम बनाउन सिकाएका हौं ।”
स्थानीयको उत्पादनको माग बढ्दै गएकोले सुन्तलाबाट जाम बनाएर बिक्री गर्न सके राम्रो आम्दानी गर्न सकिने उनले बताइन् । सहकारीले सुन्तलाबाट जाम बनाएर बिक्री गर्ने सोचसमेत राखेको छ । सहकारीका लेखा संयोजक सुमाया थापाले आगामी वर्षदेखि सहकारीले नै जाम बनाएर बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिइन् ।
स्थानीय महिलालाई नेपाल ख्रिष्टियन समाज महिला समिति गण्डकीकी संयोजक शारदा गौतमले सुन्तलाबाट जाम बनाउने सीप सिकाएकी छन् । उनले केही समयअघि उक्त गाउँमा भ्रमणको क्रममा आउँदा व्यापारीले छाडेको सुन्तलालाई प्रयोग गरी जाम बनाउन सकिनेबारे छलफल गरेपछि यहाँका महिलाले त्यसतर्फ चासो दिएको बताइन् । उनले भनिन्, “सुन्तलाका बोटमुनि फालिएका सुन्तला कुहिएपछि बंगुरलाई खुवाउने गरिँदो रहेछ, यसबाट त जाम बनाउन सकिन्छ भनेपछि महिला दिदीबहिनीले चासो दिनुभयो ।” उनले फालिएको सुन्तलाबाट पनि राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रूपमा जाम बनाएर बिक्री वितरण गर्न सकिने जानकारी दिइन् ।
सुन्तलाको रस, चिनी र कागतीको रस प्रयोग गरी जाम बनाउन सकिने र सुन्तलाको बोक्रा, रस, चिनी र कागतीबाट मार्वलेट बनाउन सकिन्छ । यसै वडाबाट यस वर्ष किसानले एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादित सुन्तला काठमाडौं, नारायणगढ, वीरगन्जलगायतका ठाउँसम्म बिक्री हुने गरेको स्थानीय महिला सपना शाहीले बताइन् । विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा सञ्चालित परियोजनाले महिलालाई उद्यमी बन्न र जागरुक बन्न उत्प्रेरणा जगाएको स्थानीय कृष्णकुमारी थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्