भारतबाट नेपाल पठाउने रेमिट्यान्सको सीमा बढ्यो

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतमा औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि रेमिट्यान्स पठाउन लगाएको सीमा वृद्धि गरेको छ ।
आरबीआईले निर्देशन जारी गर्दै रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट वृद्धि गरेर २ लाख भारु पु-याएको हो । यसैगरी प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालका लागि दोस्रो ठूलो रेमिट्यान्सको स्रोत हो । आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए । “भारतबाट धेरै रेमिट्यान्स अनौपचारिक च्यानल र साथमै बोकेर भित्रने गरेको थियो,” पौडेलले भने, “यो व्यवस्थाबाट रेमिट्यान्सको औपचारिक च्यानललाई प्रोत्साहन भएको छ ।”
रिजर्भ बैंकले सन् २००८ मा इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम जारी गर्दै भारतबाट नेपाल रेमिट्यान्स पठाउनका लागि सीमा तोकेको थियो । उक्त स्किममा भारतबाट नेपालमा एक पटकमा ५० हजार भारु र वर्षमा अधिकतम १२ पटकमात्र रेमिट्यान्स पठाउन सकिने प्रावधान थियो ।
नयाँ व्यवस्थाले भारतीय सेना र अन्य सेवामा कार्यरत नेपालीका साथै भारतीय पेन्सन होल्डर नेपालीहरुलाई सजिलो हुने आरबीआईले बताएको छ । निर्देशनअनुसार भारतबाट पठाएको रेमिट्यान्स भारतीय स्टेट बैंकको सहायक नेपाल एसबीआई बैंकमा रहेको उसको खाता वा अन्य एजेन्सीमार्फत नेपाली रुपैयाँमा प्राप्त गर्न सकिनेछ ।
भारत नेपाल रेमिट्यान्स सुविधा योजनाको वृद्धिले दुई देशबीचको व्यापारिक भुक्तानीलाई बढावा दिने र एक व्यक्तिबाट अर्को व्यक्तिलाई विद्युतीय माध्यमबाट रेमिट्यान्स सुविधा प्रदान गर्ने अपेक्षा गरिएको आरबीआईले उल्लेख गरेको छ ।
औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि सीमा वृद्धि गरे पनि आरबीआईले अनौचारिक रुपमा काम गर्नेका लागि भने उक्त सीमा कायमै राखेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । औपचारिक रुपमा काम गर्ने व्यक्तिहरु बाहेकका लागि भने प्रतिकारोबार ५० हजार भारुको सीमा र वार्षिक १२ पटकमात्र रेमिट्यान्स पठाउन सकिने व्यवस्था कायमै छ ।
नेपाल राष्ट्र बैंकले केही समयअघि प्रकाशित गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनमा कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको उल्लेख छ । कोभिड—१९ को महामारीका कारण वैदेशिक रोजगारीमा प्रभाव परे पनि गत आर्थिक वर्षमा विदेश बस्ने नेपालीबाट रेमिट्यान्सबापत ९ खर्ब ६१ अर्व ५ करोड रुपैयाँ भित्रिएको छ ।