अन्तर्राष्ट्रिय हवाई यात्रु ७३.२७ प्रतिशत घटे «

अन्तर्राष्ट्रिय हवाई यात्रु ७३.२७ प्रतिशत घटे

सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ७३.२७ प्रतिशतले कमी आएको छ । सन् २०१९ मा ४१ लाख ३८ हजार ५६३ जना हवाई यात्रु रहेकोमा २०२० मा यो संख्या ११ लाख ५ हजार ९२९ मा झरेको हो ।
कोभिड–१९ का कारण पर्यटन आगमन प्रभावित हुनुका साथै विश्वभर नै पर्यटकीय गतिविधिमा मन्दी आएसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष असर परेको हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरको हुँदा उल्लेखनीय संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ भने सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ यात्रु संख्या रहेकोमा २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ मा झरेको छ । कोभिड–१९ का कारण कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी हुने प्रतिवेदनमा उल्लेख छ ।
हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटाले १५ मुलुकका ३२ वटा गन्तव्यमा उडान गरिरहेका छन् । आन्तरिक सेवामा भने ९ वटा फिक्सड विङ र १० वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले कोभिड–१९ का कारण एसिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाई यात्रु घटेको जनाएको छ ।
त्यस्तै, सन् २०१९ को तुलनामा सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा ७५ प्रतिशतसम्म र आन्तरिक उडानमा ३० प्रतिशतसम्म हवाई यात्रु घट्न सक्ने प्रक्षेपणसहितको प्रतिवेदन प्राधिकरणले सार्वजनिक गरेको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ २०७६ देखि लकडाउन गरेकोमा ०७७ भदौ १६ देखि सीमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिएको थियो । त्यस्तै कोभिड–१९ को दोश्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि ०७८ वैशाख २३ देखि नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । स्थितिमा केही सुधार आएपछि १८ जेठ ०७८ देखि सीमित अन्तर्राष्ट्रिय उडान र १७ असार ०७८ देखि सीमित आन्तरिक उडान सुरु गरिएको थियो ।
०७६ चैतदेखि ०७८ असारसम्ममा कोभिडपूर्वको प्रक्षेपित आयभन्दा करिब १२ अर्ब रुपौयाँबराबरको आम्दानी गुमाएको प्राधिकरणले बताएको छ । त्यसैगरी वायुसेवा कम्पनीहरुले करिब २५ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएका छन् । नेपाल वायुसेवा निगमले करिब ७ अर्ब, हिमालय एयरलाइन्सले करिब ३ अर्ब तथा आन्तरिक वायुसेवा कम्पनीहरुले करिब १५ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्