इजरायली भाषा परीक्षा भदौ अन्तिममा «
Logo

इजरायली भाषा परीक्षा भदौ अन्तिममा

रोजगारीका लागि इजरायल जान आवेदन दिएका नेपालीलाई एक महिनापछि इजरायल पठाउने गरी परीक्षाको तयारी सुरु भएको छ । वैदेशिक रोजगार विभागले भदौ २८ गते भाषा परीक्षा गरी त्यसको १० दिनभित्र अन्तर्वार्ता गरेर अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।
विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षा, अन्तर्वार्तालगायत सबै प्रक्रिया एक महिनाभित्र सक्ने गरी काम भइरहेको बताए । हाल विभागले अनलाइनमार्पmत दिएका आवेदनलाई प्रमाणीकरण गरिरहेको छ । मंगलबारसम्ममा ५ हजार ५ सयभन्दा बढी युवाको आवेदन प्रमाणित भइसकेको छ भने ३ दिनभित्र सबै आवेदन प्रमाणीकरण हुने विभागले जनाएको छ ।
विभागले ९ हजार ६९९ आवेदनमध्ये लगभग ७ हजार प्रमाणित हुने अनुमान गरेको छ । चिठ्ठाबाट अन्तिम नामावली छनोट गरिने भएकाले लिखित परीक्षामा उच्च अंक ल्याएका परीक्षार्थी समेत छनोट नहुने सम्भावना रहेको विभागको भनाइ छ । परीक्षाका लागि काठमाडौं उपत्यकामा २० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
“अंग्रेजी भाषा परीक्षामा स्वास्थ्य र व्याकरणसँग सम्बन्धित ८० अंकका ४० वटा प्रश्न रहने छन्,” निर्देशक ज्ञवालीले भने, “प्रश्नका लागि नेपाल चिकित्सा शिक्षा आयोगले स्वास्थ्य र अंग्रेजी व्याकरणलाई आधार बनाएर प्रश्नपत्र बनाउने जिम्मा पाएको छ ।” उनले लोकसेवा आयोगले अबलम्बन गरेको ओएमआर पद्धतिबाट लिखित परीक्षा जाँच गरिने बताए । इजरायलसँगको सम्झौताअनुसार परीक्षा दिएकामध्ये १ हजार ६८० व्यक्तिलाई छनोट गरिने छ । ८० अंक लिखित परीक्षा र २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ताबाट दिइने छ ।
अन्तर्वार्ताबाट १ हजार ४०० व्यक्तिलाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा नाम पठाइने छ । इजरायल दूतावासले यीमध्ये ७०० महिला र ३०० पुरुषको अन्तिम नामावली चिठ्ठाबाट छनोट गर्नेछ । यसरी अन्तिम छनोटमा परेका युवाको भिसा प्रक्रियाका लागि विभागले नामावली इजरायली दूतावासमा पठाउने छ ।
विभागले परीक्षा सञ्चालन गर्ने सम्बन्धमा सोमबार सीसीएमसीसँग छलफल गरी स्वास्थ्य मापदण्ड अनुसार परीक्षा सञ्चालन गर्ने अनुमति लिएको छ । परीक्षा भौतिक उपस्थितिमा गरिने भएकाले जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी एक कोठामा २५ जना राखिने छ । परीक्षार्थीबीच २ मिटरको दूरी कायम गरी एउटा कुर्सीमा एक परीक्षार्थी मात्र राखिने छ । संक्रमण भएको कोही परीक्षार्थी भए उनीहरुलाई छुट्टै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइने विभागले जनाएको छ ।
भदौ २८ मा परीक्षा गरिने परीक्षाको प्रश्नपत्र कम्प्युटर माध्यमबाट परीक्षण गरेर २ दिनभित्र नतिजा प्रकाशित गरिने छ ।
लिखित परीक्षा भएको १० दिनभित्र शारीरिक परीक्षण र अन्तर्वार्ताको काम सक्ने विभागको योजना छ । यो सबै प्रक्रिया योजनाअनुसार भए १ महिनाभित्र इजरायल श्रमिक जान बाटो खुल्नेछ । इजरायल दूतावासले अन्तिम चरणका लागि छनोट गरेका युवालाई इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) सँग समन्वय गरेर नेपाली युवा इजरायल पठाइने छ । छनोट भएका श्रमिकलाई चरणबद्ध रुपमा पठाउने काम नेपालस्थित इजरायली दूतावासले दिएको सुझावका आधारमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्