स्मार्ट बोर्डर छिट्टै कार्यान्वयनमा «

स्मार्ट बोर्डर छिट्टै कार्यान्वयनमा

६७ औं भन्सार दिवस

सरकारले भन्सारमा हुने कामकारबाहीलाई सुरक्षित बनाउन विशेष निगारानी गर्ने भएको छ । भन्सारमा हुने कामलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा दस्ता नै परिचालन गर्ने सरकारको तयारी छ । यसका लागि विशेष सुरक्षा योजना अघि बढाउन स्मार्ट बोर्डरको अवधारणालाई यथाशक्य छिटो कार्यान्वयनमा ल्याउने अर्थसचिव डा. राजन खनालले जानकारी दिए ।
६७ औं भन्सार दिवसको अवसर पारेर भन्सार विभागले आयोजना गरेको कार्यक्रममा सचिव डा. खनालले भने, “भन्सारको सुधार गरेर अन्तर्राष्ट्रिय चेकजाँच प्रणाली कार्यान्वयनको चरणमा छ, नेपालले छिट्टै ‘स्मार्ट बोर्डर’को अवधारणा कार्यान्वयनमा लैजादै छ र भन्सारमा सरकारको बिशेष निगारानी रहन्छ ।” भन्सार प्रणाली र प्रशासन सुधारमा गर्नुपर्ने कामलाई सरकारले गम्भिरताकासाथ लिएको भन्दै उनले भन्सारमा देखिएको समस्याको निर्मूल पार्ने बताए । “सरकारले राजस्व गुमाउन सक्दैन र अवैध कारोबारलाई पनि टुलुटुलु हेरेर बस्दैन, वैध कारोबारको प्रवद्र्धनबाटै राजस्व संकलन बढाउने सकिन्छ भन्नेमा सरकार छ,” उनले भने ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम रायले भन्सारका कामकारबाहीमा प्रश्न उठ्न नदिने प्रतिवद्धता व्यक्त गरे । निजी क्षेत्रलाई लक्षित गर्दै रायले भने, “तपाइँहरुले कानुनअनुसारका वैध कारोबार गर्नुभयो भने हामी त्यसलाई सघाउने हो, हाम्रो काम व्यापार सहजीकरण नै हो अवरोध गर्ने हुँदै होइन ।” उनले सबैभन्दा ठूलो कानुन भएको र कानुनअनुसार नै काम कारबाही हुने पनि बताए । “हामीसँग कानुन छ, कानुनअनुसारका काम कारबाही हुन्छन् कुनै काम किन भयो भन्ने जवाफ पनि कानुनले दिन्छ, किन भएन भन्ने जवाफ पनि कानुनले नै दिन्छ,” उनले भने ।
महानिर्देशक रायले व्यवसायीहरुले स्वच्छ कारोबार गरे प्रशासनले त्यसलाई सहयोग गर्ने बताए । सन् २०१६ पछि भन्सार प्रशासनलाई अनलाइन प्रणालीमा स्तरोन्नति गरिएको भन्दै उनले पुरानो पद्धति कार्यान्वयनमा नरहेको बताए । “भन्सारको प्रशासनसँगै व्यवस्थापन, नीति र पूर्वाधार सुधारको कामलाई सँगसँगै अघि बढाइएको छ,” उनले भने । उनले यसअघि नै भन्सार सुरक्षाका लागि ११ जना सुरक्षाकर्मीको दरबन्दी स्वीकृत भइसकेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिए । “यसअघि नै दरबन्दीसम्बन्ीध अध्ययन भएर स्वीकृत पनि भइसकेको छ, अब त्यसलाई पनि कार्यान्वयनमा लैजाने तयारीमा छौं,” उनले भने । अहिले देशमा मूल भन्सार कार्यालय ३६ वटा छन् । जसमध्ये भारतसँग २५ र चीनसँग ९ वटा भन्सार कार्यालयको सीमा जोडिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्