भारतको लगानी बढाऔँ, निर्यात पनि भारतमा नै गरौँ : पूर्वअर्थमन्त्री डा. महत «

भारतको लगानी बढाऔँ, निर्यात पनि भारतमा नै गरौँ : पूर्वअर्थमन्त्री डा. महत

नेपाल–भारतजस्तो प्रगाढ सम्बन्ध, विश्वको कुनैपनि दुई देशबीच छैन् : भारतीय राजदुत पुरी

नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पारेका छन् । उनले भने,‘भारत र नेपालबीचको सम्बन्ध बुवा, हजुरबुवादेखि लिएर भगवानसम्मको हो । द्धिपक्षीय सम्बन्ध प्राचिन सम्बन्ध हो ।’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भने,‘भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ ।’
राजदुत पुरीले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिए ।
दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाए । आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदुत पुरीले विश्वास दिलाए ।
त्यस्तै उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको सुनाए । काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको सुनाउँदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए । पुरीले भने,‘अहिले त बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिँदै आएको पनि उनले सुनाए । राजदुत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि नेपालको काठमाडौं र अन्य शहरहरुमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि जानकारी गराए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउँदै आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो ।
उनले भारत सरकारको अनुदानमा नेपालको ‘क्रस–बोर्डर’ लाईन निर्माण भैरहेको पनि सुनाए । उनले भने,‘जलपाईगुडीदेखि काँकडभिट्टासम्म, जोगबनीदेखि विराटनगरसम्म, नुतन्बादेखि भैरहवासम्म, नेपालगञ्जदेखि नेपालगञ्ज रोडसम्म निर्माण भैरहेको छ । नेपालको यातायात सञ्जालमा भारतको राम्रै सहयोग छ।’
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताएका छन् । डा. महतले भारतले नेपाल लगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताए । नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै डा.महतले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए ।
नेपाल आर्थिक विकासको युगमा प्रवेश गरेको उल्लेख गर्दै महतले भारतको सहयोग अपरिहार्य रहेको बताए । नेपाल आफैँ पनि आन्तरिक रुपमा बलियो हुनुपर्ने बताउँदै उनले भारतको आर्थिक सहयोग नेपालका लागि महत्वपूर्ण हुने बताए । “भारत विश्वकै आर्थिक शक्तिराष्ट्रको रुपमा उदाउँदैछ । यस्तो अवस्थामा नेपालले भारतको राम्रो सहयोग पाउन सक्छ । तर नेपाल आफैँ पनि आन्तरिक रुपमा मजवुत बन्नुपर्छ । लगानीको वातावरण पनि बनाउन सक्नुपर्छ ।”महतको भनाई थियो ।
नेपालमा वैदेशिक लगानी वृद्धिको मुख्य स्रोत नै भारत भएको महतको तर्क छ । नेपालमा भारतको लगानी बढाउने र नेपालबाट भारतमा नै विभिन्न वस्तु निर्यात गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने महतले बताए । नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि महतले जोड दिए ।
भारतको सहयोगमा बन्न लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनाको विषयमा गम्भीर बन्न महतले भारतलाई सुझाब दिएका छन् । अरुण तेस्रोमा समस्या नभए पनि माथिल्लो कर्णालीमा केही अन्योल देखिएको भन्दै महतले ध्यानाकर्षण गराए ।
एकीृकत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताए । उनले भने,‘२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ।’

प्रतिक्रिया दिनुहोस्