Logo

प्रदेश–२ मा पर्यटन गतिविधि बढाइने


कोरोना संक्रमणले प्रभावित भएको पर्यटन क्षेत्रलाई प्रदेश–२ मा चलायमान बनाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । लामो समयको प्रतिक्षापछि पोखरादेखि सिमरासम्म भदौ १६ गते हवाई उडान सुरु हुने भएपछि उत्साहित प्रदेश–२ का निजी क्षेत्रले पर्यटन क्षेत्रलाई पुर्नजागरण गर्नका लागि सक्रिय भएका हुन् । यसको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को आयोजनामा वीरगन्जमा भदौ १३ गते बसेको छ । बैठकले प्रदेशमा पर्यटन गतिविधि बढाउनका लागि विभिन्न निर्णयहरु गरेको छ ।
प्रदेश–२ को पर्यटन क्षेत्र भारतीय पर्यटकमाथि नै निर्भर रहनु पर्ने अवस्थामा प्रदेशमा भारतीय पर्यटक भित्र्याउनका लागि सहज वातावरण सृजना गर्न नेपाल भारत सीमामा हुने समस्यालाई सहज बनाउने, पोखरादेखि सिमरासम्मको हवाई उडान सञ्चालनलाई स्थायित्व दिनका लागि आवश्यक योजना बनाउने लगायतका निर्णयहरु गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठले बताए ।
लामो प्रयासपछि पोखरा सिमरा हवाई उडान सुरु हुन लागेको भन्दै यसको स्थायित्वका लागि यहाँका निजी क्षेत्रको जोडबल नै महत्वपूर्ण हुने भएकाले दीर्घकालसम्म उडान सेवा टिकाउन पर्यटन क्षेत्रको गतिविधिलाई सक्रिय बनाउनुपर्ने उनको जोड छ ।
प्रदेश–२ को स्थानीय तहहरुमा रहेका पर्यटकीय स्थलहरुको पहिचान तथा व्यावस्थापन र पर्यटकहरुको सहज पहुँचका लागि यातायात सेवाका लागि ट्याक्सी र अटो चालकहरुलाई तालिम दिने निर्णय गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक सञ्जलय अग्रवालले जानकारी दिए ।
भारतीय सीमामा सुरक्षाकर्मीहरुबाट हुने ज्यादती रोक्न भारतीय सीमाक्षेत्रका सुरक्षाकर्मीहरुसँग अन्तरक्रिया तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सुरक्षित तथा स्थानीय यातायात व्यवस्थालाई प्रभावकारी सञ्चालन तथा सौहार्दपूर्ण व्यवहार गरिने, नाटाको पहलमा पोखरादेखि सिमरासम्म भदौ १६ गतेदेखि हप्ताको तीन दिन हवाई उडान सेवा शुरु गर्ने निर्णय गरेको छ ।
हवाई सेवा उडानको शुभारम्भ गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणीभद्र शर्माको प्रमुख आतिथ्यतामा गरिने र गण्डकी प्रदेशबाट आउने पाहुनालाई प्रदेश २ को पर्यटकीय स्थलहरुको भ्रमण गराई दुईरात तीन दिन राख्ने योजना पर्यटन तथा हवाई यातायात समितिले बनाएको अग्रवालले बताए । प्रदेशका सबै स्थानीय तहहरुमा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटनको विकास गरी पर्यटन व्यवसायलाई मजबुत बनाउने निर्णय बैठकले गरेको छ ।
प्रदेशको भ्रमणमा आएका पहुनाहरुलाई यातायात सेवाको पहुँच सहज बनाउन र जथाभावी भाडा असुली नियन्त्रणका लागि ट्याक्सी चालक तथा अटो चालकहरुलाई पर्यटकसँग गर्ने व्यवहार, प्रयोग गरिने भाषा, सवारी साधनको गति नियन्त्रण तथा सिट अनुसार तोकिएको संख्यामा मात्रै यात्रु चढाउने लगायतका सचेतनामूलक अभिमूखीकरण तालिमको समेत आयोजना गर्ने निर्णय गरेको सहसंयोजक अग्रवाले बताए ।

प्रतिक्रिया दिनुहोस्