प्रदेशसभामा निर्वाचित मनाङेलाई ५ वर्ष कैद

सर्वोच्च अदालतले मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद दीपक मनाङे भनिने राजीव गुरुङलाई दोषी ठहर गरेको छ । १३ वर्ष अगाडि ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला, पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुगेको मुद्दालाई किनारा लगाउँदै मंगलबार सर्वोच्चले मनाङेलाई दोषी ठहर गरेको हो ।
सोही अभियोगमा संलग्न भनिएका अर्का गुण्डा नाइके गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाएका छन् । ज्यान मार्ने उद्योगअन्तर्गत उनलाई अब मनाङेलाई ५ वर्ष कैद सजाय हुनेछ । पुनरावेदन अदालत पाटनले उनलाई यसअघि ५ वर्ष कैद सजाय सुनाएकोमा सो फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको हो ।
गुण्डा नाइके मनाङे स्वतन्त्रतर्फबाट उम्मेदवारी दिए पनि एमालेको समर्थनमा प्रदेश सांसद निवाचित भएका थिए । न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको हो । ०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलगायतको समूहलाई मनाङेको समूहले खुकुरी प्रहार गरेको थियो । सो घटनाको उजुरी दर्तापछि प्रहरीले मनाङेसहित उनको समूहका रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । तर, जिल्ला अदालतले कर्तव्य ज्यान नभई कुटपीटको ठहर गरी अभियोग लागेकामध्ये उनलाई २ वर्ष कैद सजाय सुनाउँदै अरु सबैलाई सफाई दिएको थियो ।
सो फैसलाविरुद्ध सरकारी वकिलहरु पुनरावेदन अदालत पाटक गएका थिए । ०६९ सालमा पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग गरेको ठहरसहित ५ वर्ष कैद सजायको फैसला सुनायो । ०७० साल जेठ १० गते दर्ता भएको सो पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले मंगलबार पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेको हो ।