ऐतिहासिक किल्लामा विजयोत्सव «

ऐतिहासिक किल्लामा विजयोत्सव

सरकारले घोषणा गरेका १ सय पर्यटकीय स्थलभित्र मकवानपुर गढीलाई पनि राखिएको छ ।

करिब २ सय वर्षअघि तत्कालीन गोर्खाली सेनाले अंगे्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा बिहीबार भव्य विजयोत्सव मनाइएको छ । वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा बृहत् कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी किल्लामा झन्डोत्तोलन र संघीय सरकारको नक्सा अनावरण गर्दै विजयोत्सवको शुभकामना दिइन् । राष्ट्रपतिले गढीमा करिब दुईघण्टा बिताएकी छन् ।
विजयोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय अखण्डता र गौरवमय इतिहास बोकेको गढी किल्लाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् । नेपालको एकीकरण, स्वाधीनता र भौगोलिक अखण्डता सुदृढ गर्ने महान् अभियान बोकेको पवित्र गढी तथा किल्लाको संरक्षण गरे मात्र नेपालको वीरताको इतिहास कायम रहने उनको भनाइ थियो ।
नेपाली सेनाको संगठन निर्माण गर्ने आधार खडा र वीरहरूको गाथा गाउने पवित्र स्थल मकवानपुर गढी किल्ला भएको पनि उनले बताइन् । चुरे क्षेत्रभित्र पर्ने यस स्थानको ऐतिहासिक र पुराताŒिवक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सकेको खण्डमा पर्यापर्यटन विकासमा टेवा पुग्ने उनको विश्वास थियो ।
समारोहमा सहभागी हुन हेलिकप्टरमार्फत मकवानपुरगढी पुगेकी राष्ट्रपति भण्डारीलाई नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको शैलीमा सलामी अर्पण गरेको थियो ।
नेपाली सेनाको पुरानो गोरख गणका गणपति तथा प्रमुख सेनानी अनिल कुमार बुढाथोकीले नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको स्मरण गरे ।
पृथ्वीनारायण शाहले त्यतिबेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिबक्स गण गठन गरेको र ती गण अहिले पनि रहेको उनले बताए ।
विजयोत्सवमा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष रघुनाथ खुलाल, गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं र वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले गढीको इतिहासबारे चर्चा गरेका थिए । कार्यक्रममा राष्ट्रपति भण्डारीद्वारा मकवानपुरगढीको संरक्षणमा योगदान पु¥याउने केदार न्यौपाने र बद्री खतिवडालाई सम्मानित गरिएको थियो ।
नेपालको महŒवपूर्ण इतिहाससँग जोडिएको मकवानपुर गढीमा केही वर्षअघिदेखि माघ १० गते विजयोत्सव मनाउन थालिएको हो । ३ हजारको संख्यामा रहेको अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अगाडि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेका थिए । सरकारले घोषणा गरेका १ सय पर्यटकीय स्थलभित्र मकवानपुर गढीलाई पनि राखिएको छ । युद्धस्थलमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् ।
चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्द सेनको दरबार अहिले पनि भग्नावशेषका रूपमा रहेको छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा अवस्थित मकवानपुरगढीको विकासका लागि चालू आवमा संघीय, प्रदेश र स्थानीय सरकारले करिब डेढ करोड बजेट छुट्ट्याएको छ ।
केशव समर्पण

प्रतिक्रिया दिनुहोस्