पाहुनालाई महले स्वागत

अर्घाखाँची-घर वरिपरि फूलको बास्नामा भुनभुन गर्ने माहुरीको आवाज र चियाको सट्टा मौरीको महले पाहुनालाई स्वागत गरिन्छ शुभप्रकाश खनालको घरमा । अर्घाखाँचीको सन्धिखर्क भूमिकास्थान नगरपालिका ढिकुराका कृषक शुभप्रकाश खनालको घरायसी वातावरण हो यो ।
मध्यान्हको समय थियो, घर वरिपरि भुनभुन गर्दै फूलमा रमाइरहेका माहुरी हेर्दा साँच्चै मन प्रभावित हुन्थ्यो । माहुरीको स्याहारमै रहेका थिए खनाल । २०४५ सालबाट मौरीपालनमा लागेका ८४ वर्षीय कुलराज खनाललाई छोराको साथ छ । यहाँ उत्पादन भएको मह अमेरिकालगायत ७ राष्ट्रमा पुगेको, जागिर खानेले महकै कारण खाएकोे र बढुवा पनि महकै कारणले भएको कृषक खनालले बताए । “सुरुमा त मौरीपालन गर्दा केही नजानेकाले यो व्यवसायबाट सफल भइँदैन कि जस्तै लाग्दथ्यो, जे काम गर्दा पनि लगनशील भएर गर्ने हो भने असम्भव केही पनि हुँदैन, मौरीपालनबाट सन्तुष्ट छौँ,” कुलराजले भने ।
२०४५ सालमा सुरु गरेको मौरीपालन व्यवसाय तत्कालीन मन्त्री ढुण्डीराज शास्त्रीले उनको व्यवसाय उद्दघाटन गरेका थिए । २०४५ सालबाट सुरु गरेको व्यवसायलाई आफूले निरन्तरता दिएको छोरा शुप्रकाश खनालले बताए ।
सरकारले काम नगर्ने कृषकलाई अनुदान दिने गरेको बताउँदै अहिलेसम्म कुनै अनुदान नपाएको खनालले बताए । उनले आफ्नै खुट्टामा, आफ्नै अनुभवले, कुनै नेताको पछि नलागीकन मौरीपालनमा लागेको बताए । मौरीले मह उत्पादन दिने समय हो, असोज, कात्तिक, मसिर । उनले एक सातामा आधुनिक घारमा एउटाबाट पाँच किलो र मुढेघारमा एक किलो उत्पादन गर्छन । जिल्लामै कसैले व्यावसायिक रूपमा सुरु नगरेको मौरीपालन व्यवसायले मुढेघारमा भन्दा आधुनिकमा धेरै बढी मह उत्पादन हुने बताए । खनाल परिवारसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघार छन् । अहिले उनले दुई क्विन्टल मह उत्पादन गरेको बताए । जिल्लामै पहिले सुरु गरेको मौरीपालन व्यवसाय सिक्नका अर्घाखाँचीसहित विभिन्न जिल्लाबाट कृषकहरू उनको मौरीपालन व्यवसाय अवलोकन गर्न आएको उनले भने ।
मौरीको महले काँडो निस्कने, रुघाखोकी सञ्चो हुने, शरीरलाई फाइदा गर्ने हुनाले पनि मौरीपालन व्यवसाय गर्न छोरालाई प्रेरित गरेको बुबा कुलराजको भनाइ छ । उनको पशुपालन, तरकारी, फलफूलखेती, कफीखेती, कफी संकलन केन्द्र पनि छन् । गवारोका कारणले कफीखेती नष्ट हुँदै गयो, जोगाउन नसकेको उनले बताए ।
जिल्लामा अहिले वार्षिक नौ मेट्रिक टन मह उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत थिरलाल गैरेले बताए । अर्घाखाँची जिल्ला मौरीपालनमा सम्भावना बोकेको जिल्ला हो ।