संक्रमण घट्दा अर्थतन्त्र लयमा फर्किने आशा «

संक्रमण घट्दा अर्थतन्त्र लयमा फर्किने आशा

कोभिड खोपको प्रभावकारिता ९० प्रतिशत

खोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले ओरालो लागेको अर्थतन्त्र लयमा फर्कने संकेत देखिएको छ । विगतमा खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै जाने देखिएको हो । जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छ ।
पछिल्लो समय संक्रमणदर समेत घट्दै गइरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले तत्कालका लागि नेपालीमा कोरोना संक्रमणविरुद्ध लड्ने क्षमता विकास हुनु सकारात्मक रहेको बताए । यद्यपि, जोखिम भने पूरै नहटिसकेको उनले प्रस्ट्याए । लामो समयसम्म कोरोना संक्रमणको संकटमा गुज्रेको नेपालमा अहिले ६९ प्रतिशतको हाराहारीमा कोभिड–१९ विरुद्धको एन्टिबडी विकास भएको पाइएको छ । यसैगरी खोप लगाएका मानिसमा ९० प्रतिशत एन्टिबडी विकास भएको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरबाट स्याम्पल लिई अध्ययन गरेको थियो ।
यो अध्ययन असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । “यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ,” उनले भने, “सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहरका सबै लिंग, उमेर, पेशा तथा सबै समूहमा लगभग समान रुपमा नै एन्टिबडी बनेको देखिएको छ ।” एक मात्रामात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको उनले जनाए ।
भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । भौतिक दूरी कायम गर्नेे, भिडभाड नगर्ने–नगराउने, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउने, सरसफाइमा ध्यान दिने र आफ्नो पालो अनुसार कोभिड–१९ विरुद्धको खोप लगाउने कुरामा सबै सचेत हुनुपर्नेमा विज्ञहरुको जोड छ ।
कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा आफ्नो स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न मन्त्रालयले अनुरोध गरेको छ । नजिकको सरकारी स्वास्थ्य संस्थाको प्रयोगशालामा पनि पीसीआर परीक्षण निःशुल्क हुन्छ । आफू संक्रमण पुष्टि भएमा विगत सात दिनभित्र आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई अलगै बस्न तथा नियमित निगरानीमा रहन र कुनै पनि स्वास्थ्य समस्या हुनेबितिकै परीक्षण गर्न आग्रह गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्