Logo

काँकडभिट्टाबाट निर्यात बढ्यो

पूर्वको मुख्य नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा ८३ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ । काँकडभिट्टाबाट ८३ करोड ७१ लाख ९८ हजार रूपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
गतवर्षको सोही अवधिको तुलनामा २२ करोड ४० लाख ३३ हजार रूपैयाँले निर्यात वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७३/७४ को पहिलो चार महिनामा ६१ करोड ३१ लाख ६५ हजार रूपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु निर्यात भएको थियो ।
कार्यालयका प्लान्ट क्वारेन्टाइन अधिकृत सुरेशकुमार साहका अनुसार यो नाकाहुँदै बन्दाकोपी, मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइसब्रान तथा जडीबुटीलगायतका वस्तु निर्यात हुने गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ५ करोड ७४ लाख ४८ हजार रूपैयाँ मूल्य बराबरको ७ हजार १८१ टन बन्दाकोपी भारततर्फ निर्यात भएको छ । गतवर्षको सोही अवधिमा ४ करोड ९८ लाख ६४ हजार रूपैयाँ मूल्य बराबरको ६ हजार २ सय ३३ टन निर्यात भएको थियो ।
यस्तै ३४ करोड ६६ लाख ८० हजार रूपैयाँ मूल्य बराबरको ३ हजार ८ सय ५२ टन मुसुरो दाल, २५ करोड १९ लाख ७७ हजार रूपैयाँ मूल्य बराबरको ११ हजार २ सय ४९ टन अदुवा र १२ करोड ७४ लाख ८८ हजार रूपैयाँ मूल्य बराबरको ३ हजार ९ सय ८४ टन अम्लिसो निर्यात भएको छ ।
यस्तै २६ लाख ९६ हजार रूपैयाँ बराबरको ४५ दशमलव ३ टन जडीबुटी, ३ करोड ५३ लाख ८ हजार रूपैयाँ बराबरको १ हजार २ सय ६१ टन तोरीपिना र ५८ लाख ५९ हजार रूपैयाँ बराबरको ४ सय ९४ टन राईसब्रान पूर्वी नाका भएर निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सोही अवधिमा १ अर्ब १५ करोड ५१ लाख ४५ हजार रूपैयाँ बराबरका कृषिजन्य वस्तु आयात भएको देखिन्छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातसमेत बढेको छ । गतवर्ष चार महिनामा ९२ करोड ३१ लाख ४८ हजार रूपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तुमात्र आयात भएका थिए ।
अधिकृत साहका अनुसार चीन, भारत, अस्टे«लिया, क्यानडालगायतका देशबाट कृषिजन्य वस्तुको आयात हुने गरेका छन् । काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको देखिन्छ । पहिलो चार महिनामा मात्रै ७६ करोड २४ लाख ७० हजार रूपैयाँ मूल्य बराबरको ८ हजार ३ सय ९५ टन दलहन, गेडागुडी क्यानडा र अस्टे«लियाबाट आयात भएको छ ।
यसैगरी, ३ करोड २८ लाख ८ हजार रूपैयाँ मूल्य बराबरको १ हजार ३ सय ३७ टन मकै, ५ करोड ७३ लाख १२ हजार रूपैयाँ मूल्य बराबरको २ हजार ३ सय ८८ टन कोदो, १ करोड ७५ लाख १० हजार रूपैयाँ मूल्य बराबरको १ हजार ६ सय ६१ टन ताजा तरकारी, ८ करोड ४५ लाख २ हजार रूपैयाँ मूल्य बराबरको १ हजार ८सय ६८ टन फलफूल आयात भएको छ ।
आयात हुने अन्य कृषिजन्य वस्तुमा ५१ लाख २० हजार रूपैयाँ मूल्य बराबरको १० टन मकैको बीउ, ५ करोड ७१ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको १ हजार ९ सय ५ टन प्याज, १२ करोड ५५ लाख ५१ हजार रूपैयाँ बराबरको ६ हजार ३ सय २५ टन आलु तथा ८ लाख ८४ हजार रूपैयाँ मूल्य बराबरको १२ टन लसुन रहेको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्