मध्यपहाडी लोकमार्गभरि पहिरैपहिरा, यात्रुलाई सास्ती

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ ।
लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँपुल, सहस्रधारा, अर्मादी र रिठेखालामा सडक माथिबाट ढुंगा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार वर्षा हुने बित्तिकै ढुंगा, माटो बग्ने क्रम सुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ ।
शनिवार दिनभरजसो ठूला ठूला ढुंगा खसेपछि सडक एकतर्फी रूपमा मात्र सञ्चालन भएको थियो । वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले पनि उक्त खण्ड अवरुद्धजस्तै बनेको छ । साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक भने ठप्प रहेको अधिकारीले जानकारी दिऐ ।
“वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भइरहेको छ । स्काभेटर लगाएर पन्छाउने बित्तिकै फेरि माथिबाट खसिहाल्छ, झनै जोखिम निम्तिले खतरा बढेको छ,” उनले भने । यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन यो सडकमा गत वर्ष ठूला पहिरा गएका थिए । अहिले पनि तीनै ठाउँबाट निरन्तर खस्ने क्रम नरोकिएको हो । यो सडकको स्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले भने एकदेखि डेढ घण्टासम्म लाग्ने गरेको सवारीचालकको गुनासो छ ।