रोगले सुन्तला मासिँदै «

रोगले सुन्तला मासिँदै

इलाम-धेरै सुन्तला उत्पादन हुने इलामको नामसालिङमा यस वर्ष भने उत्पादन घटेको छ । विभिन्न रोगको प्रकोप बढेको, उपचारमा सरकारी पक्षले चासो नदिँदा बोट मासिन थालेको र उत्पादन घटेको हो ।
व्यवसायिक सुन्तला फलाउने माइजोगमाई ३ नामसालिङस्थित डाँडागाउँका रविन लुइँटेलले सुन्तलाबाट गतवर्षको भन्दा आधा आम्दानी घटेको बताए । १५ वर्ष अघिदेखि नै सुन्तला खेती गर्दै आएका रविनको बगानमा यो वर्ष सुन्तला कम फलेको छ । उनले आफ्नो बगानमा मात्र नभएर गाउँका धेरै किसानको बगानका सुन्तलामा रोग लागेर उही समस्या देखिएको बताए ।
सुन्तलामा रोग लागेपछि सुन्तलाको पात पँहेलो हुने, साना पात हुने, सुन्तला नमिठो भएर अमिलो हुने, एक दुई वर्षमा बोट मर्ने, सुन्तलाको फल दाना सानो हुने, दाना बोटबाट झर्ने जस्ता समस्या देखिएका छन् । यो पुतली र किराले सार्ने रोगको कारण यस्तो भएको भन्ने सुनिए पनि वास्तविकता के हो भन्ने आपूmहरूलाई थाहा नभएको सुन्तला कृषकले बताएका छन् ।
इलामको कृषि विकास कार्यालयमा यसबारे जानकारी गराइएको तर यो नियन्त्रण नहुने जवाफ आउने गरेको किसानहरू वताउँछन् । कृषि विकास कार्यालयका कृषि प्राविधिकले किराले सार्ने रोग भएको र यसलाई उपचार गर्नुभन्दा उखेलेर फालिदिनु नै उत्तम हुने सल्लाह दिएको सुन्तला किसानको भनाइ छ ।
कृषि प्राविधिकले त्यस्तो सल्लाह दिएपछि धेरै कृषकले कतिपय रोग लागेका सुन्तलाका बोटहरू उखेलेर फालिदिएका पनि छन् । धेरै कृषकले सुन्तला उखेलेको किसान लुइँटेलले बताए । आफूले पनि २५ वटा बोट उखेलेर फालिदिएको उनले सुनाए । एउटा वयस्क बोटबाट एक सिजनमा करिव एक क्विन्टलसम्म उत्पादन भए पनि हाल बोट नै मासिएको उनले बताए ।
सुन्तला मासिने सम्भावना देखिएको बताउने रविनले साविक नामसालिङका किसानको बगानमा अझ ठूलो यो रोगको समस्या भएको बताए । रोग निदानको कुनै सम्भावना नदेखिएकाले मासिने अवस्था रहेको उनको भनाइ थियो । बूढो बोट भएर पनि यस्तो समस्या नआएको उनको भनाइ थियो । गाउँमा रहेका कतिपय बगानमा ५० वर्षअघिका बोटमा पनि राम्रै फल लागिरहेको पाइएको छ ।
कुनै कुनै वर्ष बोटबाटै पाँच लाख रूपैयाँसम्मको सुन्तला बेचेका रविन सुन्तला खेती नै छाड्ने सोचमा भने पुगिनसकेको बताउँछन् । विज्ञको सल्लाह सुझाव लिएर खेती गरिरहने उनको भनाइ थियो । १५ रोपनी जति जमिनमा सुन्तला बगान लगाएका उनी कुनै न कुनै उपायले समस्या निदान गर्न सकिएला भन्ने आशामा रहेको बताउँछन् ।
रोगका कारण यसवर्ष सुन्तलाबाट आपूmहरूले धेरै आम्दानी लिन नसक्ने एकाघरमा रहेका रविनका भाई दीपक लुइँटेलले बताए । सबै सुन्तलामा रोग नभएकाले रोग नलागेका बोटको आम्दानीमा भर पर्नुपर्ने उनको भनाइ थियो । यस वर्ष डेढ दुई लाखको मात्रै कारोबार भएको उनले बताए । दाना धेरै साना र रोग लागेर भएका दाना पनि आधाभन्दा बढी झरेको उनले बताए । आफुले यो रोगको नाम ग्रेडिङ हो भन्ने सुनेको भए पनि जानकार नभएको कृषकहरूको भनाइ छ । माइजोगमाईको नामसालिङमा मात्र हैन इलाम नगरपालिको सुम्बेक, बरबोटे, देउमाई नगरपालिकाका केही स्थानमा समेत यस्ता समस्या आएर सुन्तला खेती मासिन लागेको कृषकहरूको भनाइ छ ।
जिल्लाका केही स्थानमा सुन्तलाको उत्पादन घटे पनि समग्र जिल्लाको भने उत्पादन बढेको हुन सक्ने किसानहरू बताउँछन् । विगत वर्षभन्दा सुन्तलाको मूल्यमा गिरावट आएका कारण उत्पादन भने बढेको हुन सक्ने ब्यापारीको भनाइ छ ।
रोगको पहिचान गर्न गाह्रो भएको किसान बताउँछन् । सरकारी निकायबाट रोकथाम र उपचारका लागि चासो नदिएको किसानहरूको दुखेसो छ । यता विज्ञका अनुसार स–साना किराका कारण सुन्तलामा प्रकोप बढेको हो । सुरुमा नै उपचार भए मात्र बोटलाई फर्काउन सकिने तर संक्रमण बढेपछि उपचार नलाग्ने उनीहरूको भनाइ छ । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला भए पनि सुन्तलाबाट नै जिविकोपार्जन गर्ने किसानको संख्या भने न्यून छ ।

प्रतिक्रिया दिनुहोस्