सभामुखको भूमिका आग्रहपूर्ण : थापा «

सभामुखको भूमिका आग्रहपूर्ण : थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका आग्रहपूर्ण भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले सभामुखको पछिल्लो भूमिका आग्रहपूर्ण तथा न्यायसंगत नभएको आरोप लगाएका हुन् । “सभामुखमा नियुक्त भएपछि जोकेहीको पनि दलसँगको आबद्धता रहँदैन,” उनले भने, “अरुको निर्देशनमा चल्न खोजियो भने यसले हामीलाई पुरानै दिनमा फर्काइदिन्छ । हिजोमा फर्किन खोजियो भने स्थिति मुठभेडमा जान्छ । यसमा सरकारमा जिम्मेवार हुनुपर्छ । सभामुखले विवेक पु-याउनुपर्छ ।”
सांसद थापाले संसद्मा पेस भएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ अन्य विधेयक जस्तो नभएको बताए । डा. गोविन्द केसीका माग सम्बोधनलाई लिएर सरकारले सहमति र संसद्ले समन्वयकारी भूमिका निभाउने सहमति जनाएकाले यसपटक प्रश्न सरकारसँगै संसदप्रति पनि रहेको थापाको भनाइ थियो । “सदन चलाउने कसले हो ? पार्टीले हो ? सरकारले या सभामुखले हो ?”, उनले भने, “अमुक पार्टीका नेताले खुलामञ्चबाट, चोकचौताराबाट हाम्रो निर्णय गइसक्यो भनेर सभामुखलाई आदेश दिने र सभामुखले टुलुटुलु हेरेर बस्ने अवस्था हुन्छ र यसरी नै सदन चलाउन खोजिन्छ भने नेपालको संसद्ले सार्वभौम संसद्को रूपमा आफ्नो भूमिका निभाउन सफल भएको छ त ? भन्ने प्रश्न उब्जिन्छ । यो विधेयकको सम्बन्धमा जुन खालको भूमिका देखाइएको छ, हामीलाई चित्तबुझ्दो छैन ।” उनले मंगलबार संसद्मा भएको घटनाप्रति सभामुखले आफूहरूसँग शुक्रबार संसद् बैठक अघि छलफल गर्ने र आगामी दिनमा त्यस्ता घटना नदोहोरिनेमा आश्वस्त पार्नेमा आफूहरू आशावादी रहेको बताए । सांसद थापाले प्रधानमन्त्रीले नेपाल फर्किइसकेपछि दुई अस्पतालको खारेजी र अनसनको विषयलाई सामान्य रूपमा सल्टाउनेमा आफू आशावादी रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्