हिउँका कारण हवाइ सेवा बन्द «

हिउँका कारण हवाइ सेवा बन्द

जाजरकोट- हिमपातका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध भएको छ ।
हवाई मैदानमा जमेको बाक्लो हिउँ बिहीबार पनि नपग्लेपछि विमानस्थल अवरुद्ध भएको नागरिक उड्ययन प्राधिकरण जुफालले जानकारी दिएको छ । मंगलबार बाक्लो हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भए पनि बुधबार वर्षा जारी रहेका कारण कुनै पनि उडान हुन सकेको थिएन । विमानस्थलमा बाक्लो हिउँ जमेको र बिहीबार पनि हिउँ नपग्लेकाले तीन दिन नेपालगञ्ज विमानस्थलदेखि कुनै पनि उडान नभएको नागरिक उड्ययन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए ।
डोल्पाली जनताका लागि जिल्लाबाहिर आवतजावत गर्ने एक मात्र भरपर्दो यातायातको साधनको रूपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत मात्रै नभई दैनिक उपभोग्य सामाग्रीसमेत ढुवानी हुन सकेको छैन । लामो समयदेखि उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । उडान हुन नसकेपछि समयमै गन्तव्यसम्म पुग्न नपाइएको जुफाल पुगेका यात्रुहरूले गुनासो गरे ।
बिहीबार बेलुकीसम्म घाम लागेर हिउँ पग्लेपछि शुक्रबार उडान हुने सम्भावना रहेको नागरिक उड्ययन प्राधिकरण जुफालको जनाएको छ । लगातारको हिमपातका कारण चिसो बडेकाले डोल्पाली जनताको जनजीवन कष्टकर बन्दै भएको छ ।

सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्