सहिद सप्ताहमा शास्त्रीको स्मरण «

सहिद सप्ताहमा शास्त्रीको स्मरण

प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने सहिदको स्मरणमा बिहीबारदेखि सहिद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने गरिन्छ ।
सप्ताहको पहिलो दिन बिहीबा सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित पचलीमा उनलाई स्मरण गरिएको छ । उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेकामा अब उनको पूर्णकदको शालिक स्थापना गरेको छ । करिब १० लाख रुपैयाँको लागतमा निर्मित सो शालिकको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरणसमेत गरे । शालिक अनावरणसँगै माल्यार्पण तथा पुष्पगुच्छा अर्पणसमेत गरिएको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल र प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले लेखक विष्णु जोशीले लेखेको ‘रगतको तर्पण सहिदलाई’ लघु गीतिकाव्य विमोचन गरेका थिए ।
विसं १९५० मा बनारसमा जन्मिएका शास्त्रीलाई निरंकुशताविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १० गते टेकुस्थित खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा इन्द्रचोकमा राजनीतिक कार्यक्रम गरी जनतालाई प्रजातन्त्रका पक्षमा एकताबद्ध गराएको आरोप लगाई कारागार सजाय दिइरहेकै बेला उनलाई मृत्युदण्ड दिइएको थियो । निरङ्कुश राणा शासनविरुद्ध देशविदेशमा समेत संगठन गर्ने कार्यमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
काठमाडौँ महानगरपालिकाले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलीसभामा कावा प्रधानमन्त्री पोखरेलले सहिदले देश र जनताका लागि गरेको योगदान कहिल्यै नमर्ने भन्दै उनीहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रूपमा लिनुपर्ने बताए । उनले भने, “राजनीतिक प्रणाली फेरिएको छ, हाम्रा कार्यभार र जिम्मेवारी पनि बदलिएको छ, देश विकासमा सबै दल हुनुपर्छ, सहिदको सपना सार्थक हुन्छ ।”
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको बलिदानले देशमा विसं २००७ को क्रान्ति सफल भएको स्मरण गर्दै सामाजिक रुपान्तरणका माध्यमबाट आर्थिक उन्नति गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । कामपा–१२ का वडाध्यक्ष विकास डंगोलले जनताको जीवनस्तमा सुधार ल्याउने गरी आर्थिक रुपान्तरण गर्न सकेमा सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
सप्ताहअन्तर्गत यही माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले वीरगति प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा तथा माघ १६ गते ज्ञातअज्ञात सहिदको सम्झनामा लैनचौरस्थित स्मारकमा श्रद्धाञ्जलिसभा हुनेछ । उक्त दिन बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म सहिदको तस्बिरलाई बग्गीमा राखेर पदयात्रा गरिने छ । सरकार प्रमुख, मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायलगायतको सहभागितामा लैनचौरस्थित स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि गरिने छ ।
विसं २००७ मा राजनीतिक आन्दोलन सफल भएपछि त्यसको करीब एक दशकपछि पञ्चायत सरकारले चार सहिदको सम्झनामा विसं २०१८ मा निर्माण गरेको सहिदढोका अद्यापि छँदैछ । वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमालको डिजाइनमा बनेको सहिदढोकामा पूर्वराजा त्रिभुवन र चार सहिदको शालिक राखिएको छ । विसं २०१२ देखि नै कामपा (पहिले नगर पञ्चायत, नगरपालिका) को संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको बताइएको छ ।
सहिद दिवसमा प्रदेश ३ मा बिदा
हेटौंडा-प्रदेश नम्बर ३ सरकारले सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १६ गते सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यसैगरी गत मंसिर २७ गते मिनीट्रक दुर्घटनामा मृत्यु भएका प्रतिपरिवारलाई एक-एक लाख दिनेसमेत निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको विशेष अनुदानअन्तर्गतका योजना तथा कार्यक्रमलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको सामूहिक खेती प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ को मस्यौदा, कृषि वन प्रवद्र्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा पनि स्वीकृत गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्यविधि २०७५ पनि प्रदेशसभामा पठाउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । ३ नम्बर प्रदेशभित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवनमा रहेका महिला तथा बालबालिका कार्यालयका भवन तथा निर्माणाधीन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने समेत निर्णय भएको मन्त्री जम्कट्टेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्