मलेसियामा माघी मनाइयो

प्रवासी थारु सेवा समाज मेलेसियाले माघी पर्वको अवसरमा महोत्सव सम्पन्न गरेको छ । प्रमुख अतिथिको रुपमा रहेका संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीसमेत सो अवसरमा उपस्थित थिए ।
कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष तथा केन्द्रीय सल्लाहकार शंकर पौडेल, एनआरएनएका महासचिव सुन्दर आले, जनजाति महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पा, गायक फुर्बा तेम्बा शेर्पा, किरात राई यायोखा प्रतिनिधि भिम बानु किराँतीलगायत पनि सहभागी थिए । कार्यक्रममा थारु समुदायले माघी पर्वमा खाने विभिन्न प्रकारका परिकारको स्वाद चखाइएको थियो । कार्यक्रममा नेपालबाट गएका कलाकार अञ्जु कुस्मी, राज कुस्मी तथा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।
सो अवसरमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री चौधरीले स्वदेशमा रोजगारी विकल्प नभएर विदेशमा आएर रोजगार गर्नुपर्ने बाध्यताले दुःखी बनाएको बताउँदै स्वदेशमा नै रोजगारीको सृजना गरी युवालाई देश विकास लगाउनुपर्ने बताए ।