जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध «

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध


लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन प्रभावित भएको छ ।
एक सातासम्म पनि अवरुद्ध सडक खण्ड नखुलेपछि सवारी आगमनसहित मान्छेलाई आवतजावतमा समेत अप्ठ्यारो भएको स्थानीयबासीले गुनासो गरेका छन् । तीन ठाउँमा खसेको पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय पे्रम रावले बताए । “अहिलेसम्म पनि सडक खुल्ने कुनै सुरसार छैन । पुनः नुन, चामललगायतका दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ,” उनले भने, “सडक अवरुद्ध भएको एकहप्ता भइसक्दा पनि सरोकारवालाको ध्यान पुगेको छैन । खाद्यन्नको अभावसँंगै बिरामी स्टेचरमा बोकेर अस्पताल पु¥याउनु परेको छ । मानिसको आउजाउदेखि सवारी साधन आउजाउ ठप्प छ ।”
‘एकातिर एक सडक निर्माण भएको एक दशक बितिसक्दा समेत त्रिवेणी टौपाल सडक स्तरोन्नति हुनसकेको छैन भने त्यसमा बेलाबेला पहिरोले सास्ती थप्ने गरेको छ । भेरिखोलाका दर्जनौं गाउँका स्थानीयले वर्षेनी बर्खाको समयमा सास्ती खेप्नु परेको छ
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए । उनले भने, “पालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरेका छौँ । पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । जनजीवन पनि प्रभावित भएको छ । चाडै सडक शुचारु गर्ने तयारीमा छौ । भत्केको ठाउँमा निर्माण गर्नुपर्ने भएकोले बजेटको व्यवस्थापन गर्दैछौँ चाडै खुल्छ ।”
भेरीखोला क्षेत्र पछिल्लो समय बाढी पहिरोको उच्च जोखिममा रहेको समेत उनको भनाइ छ । यता सडक डिभिजन कार्यालय जुम्लाले छिट्टै सडक सुचारु हुने जनाएको छ । अवरुद्ध सडक सुचारु गर्न तयारी भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । अवको २/३ दिन भित्र सुचारु गर्ने तयारी भएको छ । प्रमुख भण्डारीले भने, “कार्यालयका आफ्नै डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य गरिने छ । केही दिनमा सडक सुचारु हुन्छ । स्थानीय आत्तिनु पदैन ।”
सडक जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा, हुँदै जाजरकोट, छिन्चु सुर्खेत जोड्ने सडक हो । जाजरकोट र जुम्लाबाट दुई तर्फी सडक खन्ने काम भइरहेको छ । यो सडक हालै दुई जिल्ला जुम्ला र जाजरकोट जोडिएको भने छैन । केही भाग अझै सडक काट्न अझै बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । तर यो सडक जोड्नका लागि कुडारी त्रिवेणीस्थित तिला नदीमाथि पक्की पुल भने निर्माण भइसकेको छ । यमिल्छादेखि जाजरकोट सडक निर्माण गरेर स्तरवृद्धि गरेमा चाँडै जुम्ला जाजरकोट यात्रा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्